३ असाेज, विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनमा जलेको भवन बाहिर संविधान दिवस मनाएको छ ।
आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आगलागी र तोडफोडबाट क्षति पुगेको भवन बाहिर प्रदेश सरकारले संविधान दिवस मनाएको हो ।
संविधान दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय एकता कायम गरी संविधानको रक्षा गर्न आग्रह गर्दै आवेग र उत्तेजना तथा प्रतिशोधको भावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

राजनीतिक स्थिरताका लागि समाजमा अमनचयन, शान्ति, सुव्यवस्था कायम राख्दै आपसी सद्भाव र एकतालाई थप सुदृढ बनाउनु पर्ने उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप संविधानको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको बताउँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए । मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

