झापा , १४ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर परेको भन्दै कोशी प्रदेशका हिकमत कुमार कार्कीले चिन्ता देखाउनु भएको छ ।

प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच करिब दुई दशकदेखि चलेको डेडिकेटेड लाइन र ट्रंकलाइन सम्बन्धी असमझदारी तथा महशुल बक्यौता विवादले समस्या निम्त्याएको बताउनुभएको छ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा उद्योग, सुपर मार्केट, कलकारखाना र सञ्चार क्षेत्रसमेतमा आगजनी र तोडफोडका घटनाले सुरक्षा र लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको मुख्यमन्त्री कार्कीको भनाइ छ।
उहाँले विद्युत आपूर्ति बन्द हुँदा रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र ठप्प हुन गएको र यसले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने भन्दै विवाद समाधानका लागि तत्काल वार्ता र संवाद थाल्न सम्बन्धित पक्षहरूलाई आग्रह गर्नुभएको छ।

