पुस,६- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्यालयमा भौतिक पुर्वाधार निर्माणले मात्र नपुगेर सामान्य नागरिकका छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । जनता माध्यमिक विद्यालय गौरादह १ को ५८औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले हिजो रास्ट्रीय तथा अन्तर्राष्ट्रिय रुपमा योगदान पुर्याउने जनशक्ति उत्पादन गर्ने विद्यालयले अब पनि हिजो भन्दा सक्षम जनशक्ति निर्माण गर्न लागिपर्नुपर्ने भन्दै आवश्यक योजना अघिबढाउने कुरामा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै गौरादह नगरपालिका नगर प्रमुख छत्रपति सुवेदीले गौरादह नगरपालिकाको सबभन्दा पुरानो विद्यालय जनता माध्यामिक विद्यालय भौतिक विकास तर्फ केही पछाडि परेपनी बिगत दुई वर्षको प्रयासमा नेपाल सरकार र भारतिय दूतावास संग नगरपालिकाको सम्झौता भएर नगरले ४६ कोठे भवनको ठेक्का आह्वान गरेको बताउनुभयो ।
प्राविधिक धार तर्फको पढाइ समेत सन्चालन गरिरको भन्दै नगर प्रमुख सुवेदीले विद्यालय परिवार अझ उत्कृष्ट बन्ने यात्राका लागि शुभकामना प्रकट गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय,जिल्ला तथा नगर स्तरीय खेलकुदमा उत्कृष्ट नतिजा ल्याउने खेलाडी भाइबहिनी , एसईई तथा कक्षा ११,१२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी एवं उत्कृष्ट शिक्षक पुरस्कृत गर्नुका साथै सेवा निवृत्त शिक्षक लाइ सम्मान समेत गरेको प्रधानाध्यापक हरि अधिकारीले जानकारी गराउनुभयो ।




ब्यवस्थापन समिति अध्यक्ष बुद्धिमान कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका जनप्रतिनिधि , ब्यवस्थापन समितिका पुर्व पदाधिकारी , पुर्व प्रधानाध्यापक , पुर्व शिक्षक , विभिन्न विद्यालयका प्रधानाध्यापक , अभिभावक , शिक्षक , विद्यार्थी लागायतको उपस्थिति रहेको थियो ।


