पुस ७ गते । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो ।
सोही अनुसार केन्द्रले मतपत्र छपाइका लागि चार वटा अत्याधुनिक छापाखाना र २५० जना जनशक्तिसमेत तयारी अवस्थामा राखिसकेको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार मतपत्र छाप्ने विषयमा आइतबार पनि निर्वाचन आयोगसँग छलफल भएको थियो । पौडेलका अनुसार आयोगले निर्देशन दिनेबित्तिकै छपाइको काम सुरु हुने छ । केन्द्रले अहिलेको जनशक्ति, छपाइ मेसिन र वार्षिक कार्ययोजनालाई असर नपर्ने गरी काम गर्न कम्तीमा पनि पुस १६ गतेबाट छपाइको कार्य सुरु गर्ने गरी कार्ययोजना बनाउन आयोगलाई अनुरोध गरेको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार समानुपातिकको मतपत्र छपाइका लागि २९ दिनको कार्यतालिका बनाइसकिएको र निर्वाचन आयोगको औपचारिक पत्र आउनसाथ काम सुरु गरिने छ । समानुपातिकको मतपत्र छापिसक्दा प्रत्यक्षतर्फको पनि छाप्ने बेला हुने र सोही अनुसार गर्ने योजना बनाइएको छ ।
मतपत्र छपाइका लागि करिब २५ करोड रुपियाँ खर्च लाग्ने अनुमान जनक शिक्षाको छ । यसअघि पनि जनक शिक्षाले स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, समानुपातिक तथा प्रत्यक्ष निर्वाचनलगायत निर्वाचनका सबै मतपत्र छपाइ गर्दै आएको छ ।

