प्रतिनिधिसभा निर्वाचनः झापा–२ बाट एमालेका नौ उम्मेदवार सिफारिस

1 Min Read

झापा, १९ पुस । नेकपा एमालेले झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नौ जनाको नाम सिफारिस गरेको छ । आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. २ को बैठकले सभामुख देवराज घिमिरेसहित नौ जनाको नाम प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।


क्षेत्रीय संयोजक बद्री भट्टराईका अनुसार सिफारिस हुनेमा सभामुख देवराज घिमिरे, पूर्वमन्त्री अग्नी खरेल, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रसाद ओली, एकराज कार्की, एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी, महिला नेतृ पवित्रा पाठक र राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सचिव पर्वतराज भण्डारी रहेका छन् । भण्डारीको नाम युवातर्फबाट सिफारिस गरिएको हो ।
१३ जना आकांक्षीमध्ये चार जनाले नाम फिर्ता लिएका छन् । क्षेत्रीय समन्वय कमिटीले सिफारिस सूची पार्टी जिल्ला कमिटीमा पठाइसकेको भट्टराईले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीले प्रदेश कमिटीमार्फत केन्द्रमा अन्तिम नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ ।


झापा क्षेत्र नं. २ को नाम सिफारिससँगै नेकपा एमालेले जिल्लाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिसको काम सम्पन्न गरेको छ ।

Share This Article
Leave a Comment