२७ पुष- आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४औँ जन्मजयन्ती हो । उहाँले आधुनिक नेपालको एकीकरणमा पुर्याएकाे योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।
पृथ्वी जयन्तीको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डामा पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।
शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायतका दिव्योपदेश आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।

