नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि,उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने

1 Min Read

२७ पुस – नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबिच आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ । काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ः०० बजे विशेष महाधिवेशनको उद्घाटन हुने तय भएको छ ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए ।पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।

Share This Article
Leave a Comment