हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायीक संस्था सूचीकृत

1 Min Read

माघ ३- निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री, मतपत्रलगायत अत्यावश्यक सामग्री ढुवानीका लागि १३ वटा व्यवसायीक संस्थालाई सूचीकृत गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न आयोगले कुरियर सेवातर्फ दुई वटा फर्म छनोट गरेको हो। सूचीकृत कुरियर सेवामा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि रहेका छन्।


आयोगले हेलिकोप्टर सेवातर्फ पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भए पनि कुनै पनि फर्मले दर्ता नगराएको जनाएको छ।यसैगरी, ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउन ११ वटा फर्म सूचीकृत भएका छन्। तीमध्ये हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट र अदिति ट्रान्सपोर्ट रहेका छन्।
त्यस्तै, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि पनि सूचीकृत भएका छन्।
आयोगका अनुसार गत पुस १७ गते प्रकाशित सार्वजनिक सूचनाका आधारमा प्राप्त निवेदनहरूलाई तोकिएका शर्त र वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती सेवाप्रदायक संस्थाहरू सूचीकृत गरिएको हो। सूचीकृत फर्म तथा कम्पनीहरूलाई निर्वाचन सामग्री आपूर्तिका लागि आवश्यकताअनुसार परिचालन गरिने आयोगले जनाएको छ।

Share This Article
Leave a Comment