१५ माघ- बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले गाई–गोरुको मासु खान पाउनुपर्ने आशयको अभिव्यक्ति दिएको विषयमा लुम्बिनी प्रदेश सभामा आपत्ति जनाइएको छ। प्रदेश सभा सदस्य अम्बिका काफ्लेले उक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कानुनअनुसार कारबाही गर्न माग गरेकी छन्।
बुधबार प्रदेश सभा बैठकमा बोल्दै काफ्लेले नाम नलिए पनि बाँकेका एक उम्मेदवारबाट आएको यस्तो अभिव्यक्तिले सामाजिक तथा धार्मिक सद्भावमा गम्भीर असर पार्ने बताइन्। उनले मुलुकी अपराध संहितामा गाईगोरु मार्न वा कुटपिट गर्न निषेध गरिएको र त्यसका लागि तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको उल्लेख गर्दै यस्ता विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताइन्।
दुई दिनअघि सार्वजनिक भएको एक भिडियोमा सुनारले अरु जनावरझैं गाईगोरुको मासु पनि खान चाहनेलाई पाउनुपर्ने धारणा व्यक्त गरेको आरोप लागेको थियो। तर चौतर्फी विरोधपछि उनले आफ्नो अभिव्यक्ति गलत रूपमा व्याख्या गरिएको भन्दै त्यसो आशय नरहेको दाबी गर्दै खण्डन गरेका छन्।
प्रदेश सभा बैठकमा काफ्लेले संविधानको धारा ४ मा धर्मनिरपेक्षता स्पष्ट उल्लेख भए पनि गाईगोरुको मासु खान पाउने जस्ता विषय उठाइनु संवेदनशील भएको बताइन्। उनले भनिन्, “सामाजिक र धार्मिक सद्भाव खलबल्याउने अभिव्यक्ति कोही कसैले दिन पाइँदैन, चाहे जुनसुकै दलको किन नहोस्। यस्ता गम्भीर विषयमा बोल्नेले जिम्मेवारीबोध गर्नुपर्छ। भोलि धार्मिक हिंसा भड्किए त्यसको जिम्मेवारी कसले लिने?”
उनले प्रदेश सभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने मागसमेत गरिन्।
यस विषयले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चा र विवाद सिर्जना गरेको छ।

