नेपालमा निपाह भाइरस नदेखिए पनि उच्च जोखिम, स्वास्थ्य मन्त्रालयको सतर्कता आग्रह

1 Min Read

१५ माघ— जनस्वास्थ्यका लागि अत्यन्त घातक मानिने निपाह भाइरस नेपालमा हालसम्म पुष्टि नभए पनि जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विमानस्थल, सीमा नाका तथा स्वास्थ्य संस्थाहरूमा निगरानी व्यवस्था कडा पारिएको छ। शङ्कास्पद लक्षण देखिएका यात्रुहरूको नमुना परीक्षण गर्नसमेत निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस मुख्यतः फलफूल खाने चमेराबाट सुरु भई सुँगुर, गाईबस्तु हुँदै मानिसमा सर्न सक्छ। संक्रमित व्यक्तिको रगत, पिसाब वा शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि संक्रमण फैलिन सक्ने जोखिम रहने उहाँले बताउनुभयो।

यस रोगका प्रमुख लक्षणहरूमा ज्वरो, टाउको दुखाइ, रिङ्गटा लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिनु पर्दछन्। विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार समयमै उपचार नपाए मृत्यु दर ४० देखि ७० प्रतिशत सम्म पुग्न सक्ने चेतावनी दिइएको छ।
हालसम्म निपाह भाइरसविरुद्ध कुनै विशेष खोप वा निश्चित उपचार उपलब्ध छैन। त्यसैले चिकित्सकहरूले सावधानी अपनाउन विशेष जोड दिएका छन्।
सुझावहरू यस्ता छन्:
फलफूल राम्रोसँग पखालेर मात्र खाने
मासु पकाउँदा पञ्जा र मास्क प्रयोग गर्ने
पानी उमालेर पिउने
साबुनपानीले नियमित हात धुने
भिडभाडमा मास्क प्रयोग गर्ने
नेपालमा अहिलेसम्म निपाह भाइरस पुष्टि नभए पनि छिमेकी भारतीय राज्यहरूमा देखिएको संक्रमणका कारण सतर्कता अत्यावश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Share This Article
Leave a Comment