दमकका सबै वडामा एमालेको निर्वाचन परिचालन कार्यालय सञ्चालन, घरदैलो अभियान तीव्र बनाइने

1 Min Read

माघ १८  ,झापा — नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दमक नगरपालिकाका सबै १० वटै वडामा वडा स्तरीय निर्वाचन परिचालन कार्यालय सञ्चालनमा ल्याएको छ। आजदेखि ती कार्यालयहरू औपचारिक रूपमा सञ्चालनमा आएका हुन्।
एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार अब पार्टीका कार्यकर्ता योजनाबद्ध रूपमा घरदैलो अभियानमा खटिने छन्। उनीहरूले मतदाताको घरघरमा पुगेर एमालेका पक्षमा मतदान गर्न आग्रह गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि नै विभिन्न भेलाहरू आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीको पक्षमा मतदान गर्न अपिल सुरु गरिसकिएको पनि दाहालले जानकारी दिए।

उनका अनुसार दमक नगरभित्र रहेका सबै वडामा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि ती कार्यालयमार्फत अघि बढाइनेछ। प्रत्येक वडा कार्यालयमा वडा कमिटी संयोजकसँगै पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला र नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई समेत जिम्मेवारी तोकिएको छ।
यसैगरी सम्बन्धित वडामा क्रियाशील जनसंगठनका पदाधिकारी तथा सदस्यहरू, अग्रज नेता तथा विज्ञहरू समेत संलग्न भई कार्यालयमा दैनिक रूपमा योजना तर्जुमा गरिने जनाइएको छ। ती कार्यालयहरूले वडा अन्तर्गतका टोल कमिटीहरूसँग समन्वय गरी घरदैलो लगायतका कार्यक्रम सञ्चालन गर्नेछन्।

एमालेले यसअघि नै प्रत्येक वडामा कम्तिमा १५१ देखि बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिसकेको जनाएको छ।

Share This Article
Leave a Comment