माघ १८ ,झापा — जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काले झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्थाबारे कुनै चिन्ता नगर्न उम्मेदवार तथा राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ। सुरक्षा जोखिम वा आशंका भए ढुक्कका साथ जानकारी दिन अनुरोध गर्दै उहाँले सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँका अनुसार झापा–५ मा विशेष प्रहरी टोली परिचालन भइसकेको छ भने एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर सुरक्षा सतर्कता बढाइएको छ। निर्वाचन नजिकिँदै जाँदा सुरक्षाकर्मीहरूको उपस्थितिसमेत बाक्लिँदै गएको उहाँले बताउनुभयो।
दमकमा भएको छलफलका क्रममा केही राजनीतिक दलहरूले विगतमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू अहिले चुनावी अभियानमा सक्रिय रहेको र सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति आइरहेको भन्दै असुरक्षाको चिन्ता व्यक्त गरेका थिए। त्यसपछि प्रहरीले थप सतर्कता अपनाएको जनाएको छ।
झापा–५ लाई सबैको ध्यान केन्द्रित क्षेत्रका रूपमा लिँदै यहाँको सुरक्षालाई विशेष प्राथमिकता दिइएको एसपी खड्काको भनाइ छ। भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेसकी मन्धरा चिमरिया पौडेल, नेकपाका रञ्जित तामाङ र राप्रपाका लक्ष्मी संग्रौला लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन्।

