१९ माघ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीको घोषणा पत्र लेखन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीले केही दिनभित्रै घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घोषणा पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ। “अध्यक्षज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन कार्य भइरहेको छ। अब अन्तिम रूप दिने काम चलिरहेको छ,” प्रवक्ता श्रेष्ठले भने, “हामी छिट्टै घोषणा पत्र सार्वजनिक गर्छौं।”
राप्रपाले विगतदेखि उठाउँदै आएका प्रमुख राजनीतिक एजेन्डाहरूलाई यसपटक पनि घोषणा पत्रमा प्राथमिकताका साथ समावेश गर्ने जनाएको छ। पार्टीले राजसंस्थालाई अभिभावकीय संस्थाका रूपमा पुनःस्थापना, हिन्दुराष्ट्र घोषणा, प्रदेश संरचना खारेजी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता मुद्दालाई मुख्य एजेन्डाका रूपमा अघि सारेको छ।
“यी विषयहरू अहिलेसम्म स्थापित हुन सकेका छैनन्, तर हामीले सडक र सदन दुवै ठाउँबाट प्रभावकारी रूपमा आवाज उठाउँदै आएका छौं,” श्रेष्ठले भने, “यी एजेन्डाहरू यसपटक पनि घोषणा पत्रमा समावेश गरिएका छन्।”
यसका साथै सामाजिक तथा आर्थिक रूपान्तरणसँग सम्बन्धित कार्यक्रमहरू पनि घोषणा पत्रमा समेटिने उनले जानकारी दिए। उनका अनुसार वर्तमान व्यवस्था अन्तर्गत रहेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा देशलाई अघि बढाउने मार्गचित्र पनि घोषणा पत्रमा प्रस्तुत गरिनेछ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आफ्ना एजेन्डा र कार्यक्रमसहित मतदातामाझ जाने तयारीमा छन्।
अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपाको घोषणा पत्र अन्तिम चरणमा, राजसंस्था र हिन्दुराष्ट्र मुख्य एजेन्डा
Leave a Comment
Leave a Comment

