फागुन १ देखि लागू हुने व्यवस्था, भर्ना र आकस्मिक उपचारमा भने सुविधा निरन्तर
माघ १९- स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमित बिरामीले अब एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवाबाट बढीमा २५ हजार रुपैयाँसम्मको मात्र सुविधा लिन पाउने भएका छन्। स्वास्थ्य बीमा बोर्डले सेवा वर्गीकरण गर्दै यस्तो सीमा लागू गर्न लागेको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार ओपीडी सेवामा अत्यधिक खर्च बढेपछि वित्तीय सन्तुलन कायम गर्न नयाँ व्यवस्था ल्याइएको हो। “अब ओपीडीपछि आवश्यक पर्ने उपचार खर्च अस्पताल भर्ना, ल्याब परीक्षण तथा आकस्मिक सेवामा उपयोग गर्न सकिनेछ,” उनले बताए। यो नियम आउँदो फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको बोर्डले जनाएको छ। विशेषगरी आइसीयू र शल्यक्रिया (सर्जरी) जस्ता महँगा उपचारमा बीमाको रकम अपुग हुने समस्या देखिएकाले सन्तुलन मिलाउन ओपीडी सेवामा सीमा तोकिएको बोर्डको भनाइ छ।
हाल स्वास्थ्य बीमामा आबद्ध हुन वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने व्यवस्था छ। यसअन्तर्गत एउटै परिवारका पाँच सदस्यले वर्षभरिमा एक लाख रुपैयाँसम्मको उपचार सेवा लिन पाउँछन्। नयाँ व्यवस्थाअनुसार ओपीडी सेवामा २५ हजार रुपैयाँभन्दा बढी खर्च भएमा त्यसपछि लाग्ने शुल्क बिरामी स्वयंले तिर्नुपर्नेछ। बोर्डको तथ्यांकअनुसार स्वास्थ्य बीमाको करिब ७१ प्रतिशत खर्च ओपीडी सेवामै हुँदै आएको छ भने बाँकी रकम भर्ना तथा आकस्मिक उपचारमा खर्च हुने गरेको छ। ओपीडीमा सीमा लगाएपछि बीमाको दुरुपयोग कम हुने बोर्डको दाबी छ।

