माघ १९ — राष्ट्रिय सभाको सोमबार सिंहदरबारमा बसेको बैठकले विभिन्न तीन महत्वपूर्ण अध्यादेशलाई सर्वसम्मतिले स्वीकृति दिएको छ।
बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश, र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश पारित गरेको हो। ती अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री ओमप्रकाश अर्यालले सभामा प्रस्तुत गर्नुभएको थियो।
यसै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा ले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामा पेश गर्नुभयो।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्त ले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो।
राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबार बस्ने तय गरिएको छ।

