२२ माघ– आइसिसी टी–२० विश्वकप २०२६ को अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट तयारी देखाएको छ।
चेन्नईस्थित एम. ए. चिदम्बरम मैदानमा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै मात्र १८ ओभरमा पूरा गर्यो।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए भने सन्दीप जोराले ४४ रनको महत्वपूर्ण इनिङ्स खेले। दुवै ब्याटरले मध्यमक्रम सम्हाल्दै टोलीलाई सहज जिततर्फ डोर्याए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। क्यानडाका लागि नवनित ढलिवालले ४१ रनको योगदान दिए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २/२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १/१ विकेट हात पारे।
नेपालले विश्वकप तयारीका क्रममा क्यानडासँग दोस्रो अभ्यास खेल खेलेको हो। यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा नेपालले सोही मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको थियो।
नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ। यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको थियो।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ।

