२२ माघ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म ६० निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको छ। छापिएका मतपत्रमध्ये २५ जिल्लाका मतपत्र प्याकिङसमेत पूरा भइसकेको छ।
आयोगका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फ भने कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ।
यसअघि नै समानुपातिकतर्फका २ करोड ४ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको थियो। माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको हो।
आयोगले उच्च हिमाली तथा दुर्गम जिल्लालाई प्राथमिकता दिँदै छपाइ कार्यलाई निरन्तरता दिएको जनाएको छ। छापिएका मतपत्रहरू माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्लाहरूमा पठाइने तयारी छ।
निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय रूपमा खरिद गर्ने व्यवस्था गरिएको छ। अन्य आवश्यक सामग्री भने आयोगले केन्द्रबाटै खरिद गरी जिल्लामा पठाउने जनाएको छ।
ढुवानी व्यवस्थाअन्तर्गत सडक पुगेका उच्च पहाडी तथा हिमाली जिल्लामा ट्रकमार्फत र सडक पहुँच नभएका उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत मतपत्रसहित निर्वाचन सामग्री पठाइने सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो।

