माघ २२- धरान रंगशालामा बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आजदेखि सुरु भएको छ। २०५५ सालदेखि धरान फुटबल क्लबले आयोजना गर्दै आएको यो प्रतियोगिता काठमाडौँ उपत्यकाबाहिर सञ्चालन हुने पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका रूपमा परिचित छ।
उद्घाटन खेल आज दिउँसो २:३० बजे आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन क्लबबीच हुँदैछ। आयोजक टोलीले यसपटक धरानकै स्थानीय खेलाडीलाई मैदान उतार्ने तयारी गरेको जनाएको छ भने जर्जियन क्लब बुढासुब्बा गोल्डकपमा पहिलोपटक सहभागी भएको हो।
यस संस्करणमा साविक विजेता न्युरोड टिम (एनआरटी), उपविजेता चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन क्लब, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन, झापा–११, भुटानको रोयल थिम्पु एफसी र आयोजक धरान फुटबल क्लब गरी कुल १० टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिताबाट कुल १ करोड ७ लाख रुपैयाँ आम्दानी हुने र ८७ लाख १५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिता आउँदो फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।

