माघ २१ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। एक्सट्रिम इनर्जी ड्रिङ्क्स र नेपाल क्रिकेट सङ्घ (क्यान) बीचको साझेदारीअन्तर्गत टोलीले नयाँ जर्सी पाएको हो।
जर्सी प्रायोजनसम्बन्धी क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्क्सबीच दुई वर्षे सम्झौता गत माघ २ गते सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार गरिएको जर्सी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो।
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै एक्सट्रिम इनर्जी ड्रिङ्क्सका प्रतिनिधिहरूले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले खेलाडीको हौसला बढाउने तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न साथ दिने बताएका छन्।
राखेपका सदस्यसचिव मेहताले निजी क्षेत्रबाट प्राप्त सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो। उहाँले महिला क्रिकेटले पछिल्लो समय उल्लेखनीय प्रगति गरिरहेको बताउँदै यस्ता सहकार्यले थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
क्यानले पनि यस साझेदारीले महिला क्रिकेट टोलीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन मद्दत पुग्ने जनाएको छ। नयाँ जर्सीसँगै टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

