माघ २१ – दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यू–१९ महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज बुधबार बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। पोखरा रंगशालामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
आजै अर्को खेलमा भारत र भुटान आमनेसामने हुँदैछन्। ती दुई टोलीबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ।
चार टोली सहभागी प्रतियोगितामा बंगलादेश लगातार दुई जितसहित ६ अंक जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ। बंगलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराएको थियो भने भारतलाई २–० ले पराजित गरेको थियो।
नेपालले भने एक जित र एक हारसहित ३ अंक जोडेको छ। नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो। भारतको पनि नेपालजस्तै ३ अंक छ, जसले भुटानलाई हराएको र बंगलादेशसँग पराजित भएको थियो। दुई खेलमा पराजित भुटान भने अङ्कविहीन अवस्थामा छ।
फाइनल पुग्ने सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुनेछ।
साफ यू–१९ महिला फुटबल: नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
Leave a Comment
Leave a Comment

