गौरादहमा भोलिबाट एचपीभी खोप अभियान सुरु

2 Min Read

माघ २५, झापा — पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म एचपीभी खोप लगाइनेछ।
यसैबीच, झापाको गौरादह नगरपालिकामा भने खोप अभियान भोलिबाट सञ्चालन हुने नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो। गौरादह नगरभित्रका विद्यालय तथा स्वास्थ्य केन्द्रहरूमा माघ २६ देखि २९ गतेसम्म खोप लगाइने कार्यक्रम तय भएको छ। नगर स्वास्थ्य शाखाले अभिभावक तथा किशोरीहरूलाई विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।
अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप दिइनेछ। साथै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने जनाइएको छ।
स्वास्थ्य मन्त्रालयले एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ। अध्ययनहरूले देखाएअनुसार पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा लगाउँदा अझ बढी प्रभावकारी हुन्छ।
गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो, जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हो। यो भाइरसका २०० भन्दा बढी प्रकार रहेका छन्।
नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो प्रमुख क्यान्सर हो भने क्यान्सरबाट हुने महिलाको मृत्युदरमा पहिलो स्थानमा पर्दछ।

Share This Article
Leave a Comment