फागुन ३ भित्रै घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

1 Min Read

२७ माघ— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम तोकिएको मितिभित्र घोषणापत्र सार्वजनिक गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउनुपर्नेछ भने उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ।
यसैगरी, दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पनि घोषणापत्र बुझाउन निर्देशन दिइएको आयोगले जनाएको छ। आयोगले निर्वाचन प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन समयसीमा भित्रै आवश्यक कागजात पेस गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

Share This Article
Leave a Comment