गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब २ करोड बिगोसहित भ्रष्टाचार मुद्दा

1 Min Read

२७ माघ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत इन्जिनियर सुवास विष्टविरुद्ध करिब दुई करोड रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विष्टविरुद्ध मंगलबार विशेष अदालतमा एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो। पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध कारबाही अघि बढाइएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा विष्टले आफ्नो वैध आय स्रोतभन्दा एक करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको दाबी छ। आयोगले विष्ट तथा उनका परिवारका नाममा रहेको सम्पत्ति जफत गरी कानुनबमोजिम सजाय हुनुपर्ने मागसमेत अदालतसमक्ष गरेको छ।
मुद्दाको थप सुनुवाइ विशेष अदालतमा हुने आयोगले जनाएको छ।

Share This Article
Leave a Comment