२८ माघ- आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्यान्डले लगातार दोस्रो जीत निकालेका छन्।
हिजो बेलुका कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्यो। पाकिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो। पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो।
हिजो भएको अर्को खेलमा न्युजिल्यान्डले यूएईलाई १० विकेटले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गर्यो। न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। यस्तै, हिजोको पहिलो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हरायो।
टी–२० विश्वकपअन्तर्गत आज पनि तीन खेल हुँदैछन्। पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका नेपाली समयअनुसार बिहान सवा ११ बजे अहमदावादमा खेल्दैछन्। दोस्रो खेलमा अस्ट्रेलिया र आयरल्यान्ड दिउँसो सवा ३ बजे कोलम्बोमा प्रतिस्पर्धा गर्नेछन्। आजको अन्तिम खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच बेलुका सवा ७ बजे मुम्बईको वानखेडे स्टेडियममा खेल हुनेछ।
नेपालले आफ्नो दोस्रो खेल भोलि इटालीसँग खेल्नेछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो।
यस प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर–एट’ मा आठ टोलीलाई दुई समूहमा बाँडिनेछ र प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ तारिख (फागुन २४ गते) हुनेछ।

