२८ माघ- म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको लामो प्रतीक्षापछि नेपाली नागरिकता प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गर्नुभएको हो।
बुबाको पहिचान नखुलेका कारण घिमिरेले लामो समयसम्म नागरिकता पाउन सक्नुभएको थिएन। १६ वर्षको उमेरदेखि सुरु गरेको प्रयास अन्ततः सफल भएपछि उहाँले खुसी व्यक्त गर्नुभएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सुवासलाई उहाँकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको हो। तीन वर्षअघि सबै आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिएका घिमिरेलाई नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन २०८२ अनुसार नागरिकता दिइएको हो।
नागरिकता नहुँदा शारीरिक रूपमा अपाङ्गता भएका सुवास सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुका साथै रोजगारी, बैंक खाता सञ्चालनलगायत दैनिक जीवनका धेरै काममा समस्या भोग्दै आउनुभएको थियो। हाल उहाँ आमा कमलासँग आफन्तको घरमा आश्रित जीवन बिताइरहनुभएको छ। कमलाका अन्य दुई छोराले भने नागरिकता बनाइसकेका छन् भने एक छोराले अझै पाएका छैनन्।
नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०८२ राजपत्रमा प्रकाशित भएसँगै ऐनको व्यवस्था कार्यान्वयनमा आएको प्रशासनले जनाएको छ। यसअघि पनि बेनीका मिर खान, यास्मीन बेगम तथा मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिसकिएको छ।
हाल थप सेवाग्राहीहरूले पनि आमाको नामबाट नागरिकता पाउन आवेदन दिएका छन्। प्राप्त निवेदनहरू कानुनी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा सम्बोधन गरिने प्रशासनले जनाएको छ।
११ वर्षपछि सुवास घिमिरेले पाए नागरिकता, आमाको नामबाट प्रदान
Leave a Comment
Leave a Comment

