विश्व रेडियो दिवस आज मनाइँदै

3 Min Read
EPSON DSC picture

१ फागुन । विश्व रेडियो दिवस आज विश्वभर विविध कार्यक्रमका साथ मनाइँदै छ । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विभिन्न देशमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाइन्छ । युनेस्कोले पाँचै महादेशमा ‘डिजिटल’ प्रसारणमार्फत शैक्षिक सामग्री श्रोतासमक्ष प्रस्तुत गर्ने जनाएको छ ।
युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, निर्णयकर्ताहरूलाई सूचना पहुँच सुनिश्चित गर्न प्रेरित गर्नु, रेडियोको उपयोग प्रोत्साहित गर्नु तथा विश्वभरका प्रसारकहरूबीच अन्तरराष्ट्रिय सहकार्य सुदृढ बनाउनु यस दिवसको उद्देश्य हो ।
मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ । लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो अग्रस्थानमा रहेको छ ।
व्यापक श्रोतासम्म पुग्ने विशिष्ट क्षमताका कारण रेडियोले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । रेडियो ‘स्टेशन’हरूले विविध समुदायलाई सेवा पुर्‍याउँदै विभिन्न कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा युनेस्कोले जोड दिएको छ ।
कम लागतमा सञ्चालन गर्न सकिने भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न प्रभावकारी माध्यम मानिन्छ । यसले शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ । आपतकालीन सूचना प्रवाह र विपद् उद्धारका सन्दर्भमा पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको छ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेलले समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न रेडियो अद्वितीय रूपमा सक्षम रहेको बताउनुभयो । श्रोताको आवश्यकतालाई सुन्दै तदनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौतीहरूको समाधानका लागि आवश्यक विविध दृष्टिकोण र आवाज सुनिश्चित गर्न रेडियो सेवाले सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।
यस अवसरमा जारी सन्देशमा युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितका लागि उपयोगी हुने गरी गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले रेडियोले इमान्दारीपूर्वक सूचना प्रवाह गर्न, सहानुभूतिका साथ समुदायलाई जोड्न र विश्वास कायम राख्न अधिकतम प्रयास गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
विश्व रेडियो दिवसका अवसरमा विभिन्न रेडियो स्टेशन तथा प्रसारकहरूले विशेष कार्यक्रम, विचारमञ्च, प्रतियोगिता, कथा सङ्ग्रह तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन् । केही अफ्रिकी राष्ट्रमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र प्रदर्शनसमेत गरिने र रेडियोको भविष्य तथा एआईको प्रभावबारे छलफल हुने जनाइएको छ ।

Share This Article
Leave a Comment