फागुन २, दमक–झापा ÷ नेकपा एमालेले झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा शुक्रबारदेखि घरदैलो अभियान सुरु गरेको छ। अभियानअन्तर्गत हजारौँ कार्यकर्ता एकै पटक परिचालन भई मतदाताका सुझाव र समस्या बुझ्ने काम भइरहेको जनाइएको छ।
क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार मतदातासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले भेटघाटलाई तीव्र बनाइएको हो। अभियानमा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्रीय तथा टोल समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको छ।

निर्वाचन क्षेत्रअन्तर्गतका २९ वडाका सबै टोलका घरघरमा पुगेर मतदातालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउन आग्रह गरिएको दाहालले बताउनुभयो। दमक–५ स्थित प्रशान्ति टोलमा गरिएको भेटघाटका क्रममा मतदाताबाट सकारात्मक सुझाव र साथ पाइएको एमालेले जनाएको छ।
पार्टीले यो अभियानलाई आफ्नो निर्वाचन रणनीतिअन्तर्गत सञ्चालन गरेको जनाएको छ। साथै सामाजिक सञ्जालमार्फत एआई प्रयोग गरी फैलाइएका भ्रम चिर्ने, समाजमा सद्भाव कायम राख्ने र भ्रामक प्रचारबाट सचेत रहन आग्रह गर्ने काम पनि अभियानसँगै अघि बढाइएको छ।
घरदैलो कार्यक्रम केही दिनसम्म निरन्तर सञ्चालन हुने एमालेले जनाएको छ।

