अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण सार्वजनिक, झापा–५ मा एमालेको अपिल

2 Min Read

फागुन २, झापा। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नुपर्ने ३० वटा कारण सार्वजनिक गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदातासँग समर्थनको अपिल गरेको छ। एमाले झापा–५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, शान्ति–सुरक्षाको प्रत्याभूति, सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनेदेखि शिक्षक दरबन्दी मिलानसम्मका विषय समेटिएका छन्।


अपिलमा देशमा देखिएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति–सुरक्षाको ग्यारेन्टी गर्न ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख छ। झापा–५ मा सुरु गरिएका अधुरा विकास योजनाहरू सम्पन्न गर्न, युवालाई प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरी स्वरोजगार अभिवृद्धि गर्न र कृषिक्षेत्रको विकासमार्फत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि ओलीलाई निर्वाचित गर्न आग्रह गरिएको छ।
निर्माणाधीन एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकको काम सम्पन्न गर्न तथा दमक–रवि–चिसापानी सडक निर्माण अघि बढाउन पनि ओलीको जित आवश्यक रहेको अपिलमा उल्लेख छ। त्यसैगरी नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण सम्पन्न गर्ने, दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिक तथा स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना पनि प्राथमिकतामा राखिएको छ।


भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान, रतुवा, मावा र कमल खोलाको तटबन्धन, साथै स्थानीय तहका अस्पतालहरूमा सेवा विस्तारका लागि पनि ओलीलाई मतदान गर्न एमालेले आग्रह गरेको छ।
एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार अपिल मुख्य विषयहरू समेटेर तयार पारिएको हो, जसले घरदैलोमा खटिएका कार्यकर्तालाई मतदातासँग कुरा बुझाउन सहज बनाएको छ। उनका अनुसार प्रत्येक वडामा परिवार संख्याका आधारमा कम्तीमा १५ सय प्रति अपिल वितरण गरिनेछ।
एमालेले ‘केपी ओली र झापा–५ एकअर्काका परिपूरक’ रहेको उल्लेख गर्दै अध्यक्ष ओलीको विकास अनुभव, मतदातासँगको प्रत्यक्ष सम्बन्ध र विगतको योगदानका आधारमा यसपटक पनि सहज जित हासिल हुने दाबी गरेको छ।

Share This Article
Leave a Comment