महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि काठमाडौँ प्रहरीको १३ बुँदे अनुरोध

2 Min Read

फागुन २, झापा। महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर मा दर्शन गर्न आउने भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै काठमाडौँ प्रहरीले १३ बुँदे अनुरोध सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सम्भावित चोरी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै बहुमूल्य गरगहना नलगाउन र महत्त्वपूर्ण तथा महँगा सामान लिएर नआउन आग्रह गरिएको छ।
प्रहरीले मन्दिर परिसरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्डअनुसार प्लास्टिकका झोला, कप, प्लेटलगायत निषेधित सामग्री प्रयोग नगर्न र दूध, गङ्गाजलजस्ता सामग्रीका लागि फुट्ने काँचका भाँडा प्रयोग नगर्न अनुरोध गरेको छ।
भक्तजनलाई तोकिएको कक्षमा जुत्ताचप्पल राखेर मात्र मन्दिर प्रवेश गर्न, दर्शनपछि अनावश्यक भीड नगरी छिटो बाहिरिन र घुइँचो व्यवस्थापनमा सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ।

त्यसैगरी मन्दिर प्राङ्गणमा मोबाइल फोन, क्यामरालगायत सामग्री प्रयोग निषेध गरिएको छ। छालाका सामान, जुत्ताचप्पल, ज्याकेट तथा कम्मरपेटी लगाएर प्रवेश गर्न नपाइने भएकाले ती सामग्री सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न भनिएको छ।
प्रहरीले पाकेटमाराबाट सावधान रहन, आफ्नो सामानको सुरक्षा आफैँ गर्न, कुनै तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क गर्न र कुनै सामान वा व्यक्ति हराएमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा जानकारी गराउन अनुरोध गरेको छ।
मेला तथा मन्दिर क्षेत्रलाई स्वच्छ राख्न जथाभावी फोहोर नगर्न, तोकिएको शौचालय प्रयोग गर्न, जेष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई सहज दर्शनका लागि सहयोग गर्न पनि आग्रह गरिएको छ।
साथै, दर्शनका लागि कुनै विशेष टिकट वा पासको व्यवस्था नगरिएकाले पङ्क्तिबद्ध भएर दर्शन गर्न र अरूको अधिकार हनन हुने व्यवहार नगर्न प्रहरीले सबै भक्तजनसँग अपिल गरेको छ।

Share This Article
Leave a Comment