नेकपा उम्मेदवार रञ्जित तामाङद्वारा ‘भिजन पेपर’ सार्वजनिक

2 Min Read

फागुन ३ , झापा।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रञ्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन्। आइतबार दमकमा आयोजित कार्यक्रममा उनले झापा–५ का लागि ७ वटा प्रमुख भिजन, ३५ मिसन र २१ लक्ष्य तय गरिएको जानकारी दिएका छन्।
भिजनमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिकतामा राखिएको छ।

शिक्षा क्षेत्रमा ८७ वटा सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने लक्ष्यसहित दमक बहुमुखी क्याम्पसलाई दीर्घकालीन रूपमा विश्वविद्यालयमा रूपान्तरण गर्ने योजना समेटिएको छ। गौरादह र गौरीगन्ज बहुमुखी क्याम्पस तथा गौरादह कृषि क्याम्पसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउने लक्ष्य पनि भिजनमा उल्लेख गरिएको छ।
स्वास्थ्य क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गरी अत्याधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता राखिएको छ। कृषि, उद्योग र व्यवसाय क्षेत्रमा युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने र औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजी संरक्षण र प्रवर्द्धन गर्ने नीति पनि अघि सारिएको छ।

भौतिक पूर्वाधारतर्फ १८ तले बिजनेस कम्प्लेक्स सञ्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण अध्ययन, औद्योगिक ग्राम स्थापना जस्ता महत्त्वाकाङ्क्षी मिसनहरू भिजनमा समावेश छन्।
भिजन पेपरअनुसार आगामी पाँच वर्षभित्र १७० वटा गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि क्षेत्रका २९ वडामा हरेक वर्ष २९ आयोजना, चारवटा स्थानीय तहमा हरेक वर्ष चार–चार आयोजना र क्षेत्रीय स्तरमा प्रत्येक वर्ष एउटा आयोजना कार्यान्वयन गर्ने योजना तय गरिएको छ।

Share This Article
Leave a Comment