प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक

2 Min Read

३ फागुन- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा देशभक्तहरूको जीवन्त सदन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी नागरिकका छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउन पहल गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, दुर्गम क्षेत्रको विकासका लागि रोपवे, केबुलकार, सुरुङमार्ग र रेलमार्ग जस्ता पूर्वाधार विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। सरकारी कर्मचारीलाई तलब वितरण गर्न ऋण लिने तथा ऋणको साँवा–व्याज तिर्नसमेत पुनः ऋण लिनुपर्ने अवस्थाको विरोधलाई निरन्तरता दिने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ।
पार्टीले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठूला भ्रष्टाचारीलाई कडा सजाय, आवश्यक परे ज्यान सजायसम्मको कानुनी व्यवस्था गर्न संघर्षरत रहने जनाएको छ। निर्वाचित जनप्रतिनिधिहरू आफ्नै क्षेत्रमा बसेर जनताको सेवा तथा सन्तुलित विकासमा योगदान दिन पाउने कानुनी व्यवस्था गराउन पहल गर्ने पनि उल्लेख गरिएको छ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेले ऐन–कानुनका विषयमा गम्भीर छलफल गर्दै देशलाई अघि बढाउने नीति आवश्यक रहेको बताए। सदनलाई जनताको मुद्दा उठाउने प्रभावकारी थलो बनाउनुपर्ने र उम्मेदवारहरूले आफ्ना एजेन्डा स्पष्ट रूपमा जनतासमक्ष प्रस्तुत गर्न सक्नुपर्ने उनको भनाइ थियो।
उनले प्रधानमन्त्री चयन प्रक्रिया सदनबाटै हुनुपर्ने धारणा पनि व्यक्त गरे। साथै, यसअघि प्रधानमन्त्री भइसकेका व्यक्ति तथा सम्बन्धित दलहरूले देशका लागि गरेका कामको स्पष्ट विवरण आगामी सदनमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

Share This Article
Leave a Comment