फागुन १० –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि मुलुकलाई नयाँ र व्यापक समझदारीका साथ अघि बढाउनुपर्ने बताएका छन्।
रुपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्वल बोहरा को प्रचारप्रसारका क्रममा आइतबार रुपन्देहीको धकधईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केवल निर्वाचन मिति अगाडि–पछाडि सार्दैमा देशका समस्या समाधान नहुने धारणा राखे। उनले ‘८४ को निर्वाचन ८२ मा गर्दैमा मात्र मुलुकको समस्या हल हुँदैन’ भन्दै निर्वाचनपछि सबै पक्षबीच नवीनतम समझदारी आवश्यक रहेको बताए।
अध्यक्ष लिङ्देनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ किसिमको सहमति हुनुपर्नेमा राप्रपाले जोड दिँदै आएको तर त्यसलाई गम्भीरतापूर्वक नलिइएको उल्लेख गरे। उनले राष्ट्रिय समझदारी कायम गर्नका लागि मतदाताले दबाब सिर्जना गर्ने गरी मतदान गर्नुपर्ने बताए।
निर्वाचनपछि राप्रपाले बलियो शक्ति हासिल गरे नवीनतम समझदारी निर्माणमा निर्णायक भूमिका खेल्ने उनको भनाइ थियो।

