फागुन १० – सरकारले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण १५ फागुनभित्र उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपचारमा संलग्न अस्पतालहरूलाई छुट भएका घाइतेको नामावली मन्त्रालयमा पेस गर्न भनिएको हो। फागुन १ देखि १५ गतेभित्र सूचीकरण तथा वर्गीकरणसम्बन्धी विवरण पठाउन आग्रह गरिएको छ।
हालसम्म दुई सयजनाको मात्र वर्गीकरण विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। प्राप्त निवेदनको छानबिनपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ।
सरकारले अतिगम्भीर र गम्भीर घाइतेलाई मासिक ९ हजार तथा मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। मन्त्रालयका अनुसार प्रदर्शनमा कुल २ हजार ५९९ जना घाइते भएका छन्।

