फागुन २१ निर्वाचन: आजै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन

1 Min Read

फागुन १८– फागुन २१ गते हुने निर्वाचनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोग ले सोमबार बेलुकीसम्म सबै केन्द्रमा टोली पुगिसक्न परिपत्र जारी गरेको छ।
दुर्गम तथा सडक सुविधा नपुगेका सुदूरपश्चिम र कर्णालीका दुई सयभन्दा बढी केन्द्रमा यसअघि नै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् भने बाँकी स्थानमा पनि अपराह्नसम्म तयारी पूरा गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
मतदान अधिकृतहरूले केन्द्रमा पुगेर चारकिल्ला तोकिएको सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने र आवश्यक तयारी गर्नेछन्। मतपत्रलगायत सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्नेछ र मतदान सम्पन्न नहुँदासम्म सुरक्षाकर्मी र कर्मचारी साथमै रहनेछन्।
निर्देशिका अनुसार प्रत्येक वडामा कम्तीमा एक मतदान केन्द्र रहनेछ। एक केन्द्रमा एक हजारभन्दा बढी मतदाता नहुने व्यवस्था छ भने आवश्यकता अनुसार एउटै स्थलभित्र क, ख, ग गरी बढीमा सातवटा केन्द्र तोकिन सक्छन्।
मतदान सकिएपछि सर्वपक्षीय उपस्थितिमा मतपेटिका मुचुल्का गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्र कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगले जनाएको छ।

Share This Article
Leave a Comment