आज तराई–मधेशका जिल्लामा होली मनाईंदै

1 Min Read

फागुन १९,झापा– रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइएपछि भोलिपल्ट तराई क्षेत्रमा फागु पर्व मनाउने परम्परा अनुसार आज तराईका जिल्लामा उत्सवको माहोल छ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा होली धुमधामका साथ खेल्ने गरिन्छ। तराई क्षेत्रमा आज सार्वजनिक बिदासमेत दिइएको छ। सहर तथा ग्रामीण क्षेत्रमा बालबालिकादेखि वृद्धवृद्धासम्म एकआपसमा अबिर, रङ र पानी छ्याप्दै शुभकामना आदानप्रदान गरिरहेका छन्। परिवार, आफन्त र साथीभाइसँग घरआँगनमै भेला भई परम्परागत परिकारको स्वाद लिँदै होली पर्व मनाउने चलन रहेको छ।
यसैबीच, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूले होली मर्यादित र सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन्। कसैको इच्छाविपरीत रङ नदल्न, लोला हान्ने जस्ता अवाञ्छित गतिविधि नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकलयुक्त रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन नगर्न तथा सवारी चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोध गरिएको छ।
प्रशासनले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देशसहित सभ्य र सुरक्षित रूपमा होली मनाउन सबै नागरिकलाई अपिल गरेको छ।

Share This Article
Leave a Comment