फागुन २१ – बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकै चरणमा मतदान
नवयुवाको आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज देशभर मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
मतदानप्रति मतदातामा उत्साह देखिएको छ। मतदान गर्नका लागि धेरैजना आफ्नो गाउँघर फर्किएका छन् भने केही मतदाता विदेशबाटसमेत स्वदेश आएका छन्। देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो।
उम्मेदवार र निर्वाचन प्रणाली
निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत प्रत्यक्ष र समानुपातिक गरी दुई तरिकाबाट भइरहेको छ।
प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्ष प्रणालीअन्तर्गत ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ अन्य गरी कुल ३ हजार ४ सय ६ उम्मेदवार चुनावी मैदानमा छन्।
समानुपातिकतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी कुल ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
मतदाता संख्या र मतदान केन्द्र
यस निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। साथै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम गरिएको छ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १ सय ४३ अस्थायी मतदानस्थल पनि तोकिएका छन्।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ।
निर्वाचन सञ्चालनका लागि २ लाख १५ हजार कर्मचारी खटिएका छन्। साथै, चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा परिचालित छन्।
विशेष परिस्थितिमा भइरहेको यस निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
निर्वाचनको महाउत्सव आज
Leave a Comment
Leave a Comment

