२० फागुन —भोलि देशभर हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको छ। बुधबार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरमार्फत गस्ती गर्ने निर्णय गरेको हो।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। निर्वाचनको अन्तिम तयारी, सुरक्षा प्रबन्ध र समसामयिक विषयमा विस्तृत छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन्।
उपसचिव आचार्यका अनुसार मतदानको समयमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आकाशमार्गबाट गस्ती गर्ने र आपतकालीन अवस्थाका लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ। “सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन हेलिकप्टरबाट गस्ती गर्नेबारे छलफल भएको छ,” उनले भनिन्।
केन्द्रीय सुरक्षा समितिले हाल देशभरको सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष निकालेको छ। यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट छलफल गरी सुरक्षा अवस्थाबारे जानकारी लिइसकेका छन्।
निर्वाचन अवधिमा कानुन विपरीतका गतिविधि गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर कडा कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ। सरकारले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको जनाएको छ।

