२० फागुन — गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक गर्दै निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम सम्पन्न भएको जानकारी दिएको हो ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारीसहित देशभरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको थियो । करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र केन्द्र तथा जिल्लाबीचको समन्वयका विषयमा विस्तृत छलफल भएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
उनका अनुसार सबै जिल्लाबाट निर्वाचनको आवश्यक तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको प्रतिवेदन पेश गरिएको छ । बैठकमा शान्ति–सुरक्षाको अवस्था, मतदानको दिन अपनाउनुपर्ने सतर्कता, सम्भावित सुरक्षा संवेदनशीलता तथा त्यसको व्यवस्थापनबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गरिएको छ ।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक निर्देशन दिएका छन् । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा संयन्त्र तथा आवश्यक निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा सुरक्षित रुपमा पुगेको जानकारी गराएका छन् ।
गृह मन्त्रालयले निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्षसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइएको जनाएको छ ।

