चैत १२ — नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै सोअनुसार कार्यक्रम सार्वजनिक गरिएको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गरिनेछ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ भने १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।
आउँदो वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म देशभरका ६ हजार ७४३ वडाबाट सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ। सदस्यहरूले आफू सदस्य रहेको वडामै गएर सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, वैशाख महिनाभरि वडास्तरमा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन हुनेछ।
कार्यतालिकाअनुसार जिल्लास्तरीय प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाउनुपर्नेछ। केन्द्रले आवश्यक छानबिन गरेर असार १५ गतेभित्र सदस्यताको अन्तिम टुंगो लगाउनेछ। अद्यावधिक सदस्यहरूको नामावली असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।
केन्द्रीय सभापतिबाट प्रमाणित अन्तिम नामावली अधिवेशन प्रक्रिया सुरु हुनु अघि नै निर्वाचन समितिलाई उपलब्ध गराइनेछ र त्यसपछि अधिवेशन प्रक्रिया अघि बढाइनेछ।
कार्यतालिकाअनुसार भदौ २ गतेसम्म सबै वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। भदौ ७ गते गाउँ/नगर अधिवेशन, भदौ १७ गते प्रदेशसभा क्षेत्रीय तथा एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुनेछ। त्यसपछि असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ मा, विस्तृत कार्यतालिका सार्वजनिक
Leave a Comment
Leave a Comment

