चैत १४– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौं सचिवालय बैठकले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्त्सना र विरोध गरेको महासचिव शंकर पोखरेलले बताए। उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गरेको र उनीहरू दुवै जनाको तत्काल रिहाइको माग गरेको उनले बताए।
आज बसेको बैठकले अध्यक्ष ओली र गृहमन्त्री लेखक पक्राउको राजनीतिक र कानुनी प्रतिवाद गर्न तीन नेतालाई जिम्मेवारी तोकेको छ। राजनीतिक दलहरूसँगको संयोजनको जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेलले गर्ने महासचिव पोखरेलले बताए। संसदीय दलहरूसँगको संवाद र संयोजन गर्ने कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने उनले बताए।
आजको सचिवालय बैठकको अध्यक्षता पनि बादलले नै गरेका थिए। उनी पहिलो वरीयताका उपाध्यक्ष पनि हुन्। कानुनी प्रतिवाद गर्ने कामको संयोजन गोकर्ण विष्टले गर्ने पोखरेलको भनाइ थियो। यस्तै समग्र जनपरिचालनको संयोजन केन्द्रीय कार्यालयले गर्ने उनको भनाइ छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो। गत भदौ २३ गते हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा ओली–लेखक पक्राउ परेका हुन्।
एमालेका प्रमुख निर्णयहरू:
१. आम जनसमुदाय र नागरिक समाजको साथमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. आज अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने।
३. भोलि (चैत्र १५ गते) दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दल तथा नागरिक समाजसँग संवाद र सहकार्य गर्ने।
एमालेको यो निर्णयसँगै पछिल्लो राजनीतिक घटनाक्रम थप तातेको छ ।

