२२ चैत- नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का माथि जारी सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ। चैत १५ गते पक्राउ परेका उनलाई आज दोस्रोपटक म्याद थप गरिएको हो।
यसअघि काठमाडौं जिल्ला अदालत ले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा बरामद भएको रकमको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। खड्काको घरमा जलेको अवस्थामा भेटिएको नेपाली तथा विदेशी मुद्राबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान गरिरहेको छ। विभागले घरबाट जलेका नोटका टुक्रा र खरानी समेत संकलन गरिसकेको छ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए।

