१४ बैशाख,०८३-झापा । एफएम प्लस ८९.१ मेगाहर्ज गौरादहको आयोजनामा महिला सशक्तीकरण, अवसर, चुनौती र आवश्यकता विषयक रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
एफएमको साक्षात्कार कक्षमा आयोजित कार्यक्रममा गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी चौधरी, महिला नेतृ सुलोचना राजवंशी, रास्वपा गौरादह नगर कमिटीकी कोषाध्यक्ष मिना सापकोटा (कोइराला), महिला उद्यमी चन्द्रकला कार्की (सुवेदी), सहकारीकर्मी वालिका खनाल तथा सन्थाल समुदायका सुमित्रा सोरेन र मिना हेमरमलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले पछिल्लो समय महिला सशक्तीकरणमा प्रगति भए पनि चुनौतीहरू अझै कायम रहेको बताउनुभयो। “चुनौतीको सामना गर्न सक्ने महिला नै सफल हुन्छन्, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो। साथै, महिलाको सशक्तीकरणका लागि शिक्षा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगरपालिकाले छोरी–बुहारीलाई छात्रवृत्ति तथा विभिन्न सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा उठेका विषयहरूलाई स्रोत–साधनअनुसार आगामी योजनामा समेट्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
महिला नेतृ सुलोचना राजवंशीले विगतमा शैक्षिक र आर्थिक कारणले महिलाहरू पछाडि परेको उल्लेख गर्दै अहिले पनि राजनीतिमा महिलाको सहभागिता बढाउन चुनौती रहेको बताउनुभयो।
रास्वपा गौरादह नगर कमिटीकी कोषाध्यक्ष मिना सापकोटा (कोइराला)ले अवसरहरू प्रदान गर्दा विभेदरहित हुनुपर्नेमा जोड दिँदै महिलाहरू चुलो–चौकोबाट बाहिर निस्कन खोज्दा समाजले सहज रूपमा स्वीकार्न नसक्ने समस्या अझै रहेको बताउनुभयो। “यस्ता अवस्थाबीच पनि महिला आफैं दृढ र स्पष्ट भएर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा महिला उद्यमी चन्द्रकला कार्की (सुवेदी), सहकारीकर्मी वालिका खनाल तथा सन्थाल समुदायका सुमित्रा सोरेन र मिना हेमरमले आफ्ना अनुभव साझा गर्दै योजना निर्माण गर्दा सबै वर्गका महिलालाई समेट्न स्थानीय सरकारलाई सुझाव दिएका थिए।
कार्यक्रमको सञ्चालन एफएम प्लस ८९.१ मेगाहर्जका प्रबन्ध निर्देशक युवराज भट्टराईले गर्नुभएको थियो।

