सामाजिक सञ्जालको लत सम्बन्धी रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न

2 Min Read

१८ बैशाख ,२०८३ ,झापा – गौरादह नगरपालिकाको सहयोग र एफएम प्लस ८९.१ मेगाहर्ज गौरादह, झापाको आयोजनामा किशोरकिशोरीमा सामाजिक सञ्जालको लत, कारण, समाधान र सरोकारवालाको दायित्व विषयक रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एफएमको साक्षात्कार कक्षमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष दुर्गामणी बस्नेत, डोरामारी माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमकुमार बराल, बैगुन्धुरा अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक तिर्थ खतिवडा, सामाजिक एवं शैक्षिक व्यक्तित्व निर्मला सुवेदी सहित जनता माध्यमिक विद्यालय गौरादह–१, अमर माध्यमिक विद्यालय गौरादह–२ तथा बैगुन्धुरा अङ्ग्रेजी माध्यमिक विद्यालय गौरादह–९ का विद्यार्थी भाइबहिनीहरूको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौरादह नगरपालिकाको सामाजिक विकास समितिका संयोजक दुर्गामणी बस्नेतले सामाजिक सञ्जालको अधिक प्रयोग र दुरुपयोग समस्याका रूपमा रहेको भन्दै त्यसबाट जोगाउन शैक्षिक संस्था, स्थानीय सरकार र अभिभावक सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नगर तथा वडाले आगामी योजनामा सामाजिक सञ्जाल प्रयोगको विषयलाई कुनै न कुनै रूपमा समेट्ने बताउनुभयो ।
डोरामारी माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमकुमार बरालले गौरादह नगरपालिकाका सबै सामुदायिक विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाइएको बताउँदै विद्यार्थी घर–समाजबाटै सामाजिक सञ्जालमा अभ्यस्त हुन सिकिरहेको बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगभन्दा पनि खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बैगुन्धुरा अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल तिर्थराज खतिवडाले सामाजिक सञ्जालको दुरुपयोग र त्यसलाई रोक्न अपनाउनुपर्ने उपायका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

अभिभावकहरूले ध्यान दिनुपर्ने कुराको विषयमा बोल्दै शैक्षिक व्यक्तित्व निर्मला सुवेदीले सामाजिक सञ्जालको प्रयोग नशाकै रूपमा हुनु चिन्ताको विषय बनेको भन्दै अभिभावकहरूले आफैं पनि सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका छात्राहरू जनता माध्यमिक विद्यालयकी सागरिका भट्टराई, अमर माध्यमिक विद्यालयकी स्वस्तिका सुनाम तथा बैगुन्धुरा अङ्ग्रेजी माध्यमिक विद्यालयकी रिजु भण्डारीले सामाजिक सञ्जाल सम्बन्धी आफ्ना अनुभव एवं धारणा राखेका थिए ।

विहान ११ बजेदेखि १२:३० बजेसम्म प्रसारित कार्यक्रमको सञ्चालन एफएम प्लस ८९.१ मेगाहर्जका प्रबन्ध निर्देशक एवं सञ्चारकर्मी युवराज भट्टराई, व्यवस्थापन स्टेसन संयोजक मन्जु डाँगी तथा प्राविधिक संयोजन डेनिस भट्टराई र रमिशा कुँवरले गर्नुभएको थियो ।

Share This Article
Leave a Comment