असार २१ — सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले नेपाली मिडियाको संरचनागत सुधारका लागि सरकार तयार रहेको बताउँदै नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला निकायलाई स्पष्ट योजनासहित छलफलमा आउन आग्रह गर्नुभएको छ।
नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उदघाटनसत्रमा आज सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले जिम्मेवार, व्यावसायिक र सन्तुलित पत्रकारितालाई सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो। राजनीतिक पूर्वाग्रहबिनै अघि बढे दुई वर्षभित्र सञ्चार क्षेत्रको संरचनागत सुधार सम्भव रहेको उहाँको भनाइ थियो।
उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएकाले सरकारले त्यसलाई कमजोर पार्ने कुनै नीति नलिने स्पष्ट पार्दै पत्रकारलाई जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। प्रकाशित समाचार हटाउनुभन्दा तथ्यपरक र परिपक्व समाचार लेख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सरकारी विज्ञापन नीति कसैप्रति विभेद गर्ने उद्देश्यले नभई सार्वजनिक स्रोतको दुरुपयोग रोक्न ल्याइएको दाबी गर्दै मन्त्री तिमिल्सिनाले सरकारी सञ्चार माध्यमको सुधार र व्यवस्थापनमा सरकार लागिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा महासंघका अध्यक्ष निर्मला शर्मा ले सरकारी विज्ञापन नीति विभेदकारी रहेको भन्दै पुनर्विचार गर्न आग्रह गर्नुभयो। पूर्वअध्यक्ष हरिहर विरही ले प्रेस स्वतन्त्रता संकुचन हुने कुनै कदम नचाल्न सरकारलाई सुझाव दिनुभयो।
सम्मेलनमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, मधेसी पत्रकार संघका अध्यक्ष मोहनकुमार सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतले धारणा राख्नुभएको थियो । सम्मेलनमा देशभरबाट प्रतिनिधिमुलक पत्रकारको सहभागिता रहेको छ ।

