बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कटौती हुने

1 Min Read

भदौ १२ – भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिको खोज, उद्धार, राहत तथा पूर्वाधार पुनःसञ्चालनका लागि सरकारले राष्ट्रसेवक कर्मचारीको तलब कटौती गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको सचिवस्तरीय बैठकले कर्मचारीको तहअनुसार दुईदेखि १० दिनसम्मको तलब कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीको १० दिन, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सात दिन, राजपत्र अनङ्कित कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको तलब कटौती गरिनेछ। भदौ महिनाको तलब भुक्तानी गर्दा उक्त रकम कट्टा गरिने जनाइएको छ।

सबै तहका कर्मचारीको तलब कटौतीबाट करिब ३६ करोड रुपैयाँ कोषमा जम्मा हुने सरकारको अनुमान छ। साथै, बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनःसञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

Share This Article
Leave a Comment