कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

2 Min Read

२९ जेठ, झापा — नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गर्नुभएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए।
प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह, सुरज पासवान र सम्भव भट्टराई सम्मिलित टोली प्रथम भएको छ। त्यसैगरी शिक्षादीप बोर्डिङ स्कुलका केशव झा, विशेष पौडेल र अलिसा सापकोटाको टोली द्वितीय तथा श्री पोखरिया माध्यमिक विद्यालयका कृष खतिवडा, अनुकुल आचार्य र प्रज्वल आचार्य सम्मिलित टोली तृतीय भएको छ।
विजेता टोलीलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रीति देवले बीमाप्रतिको जनचेतना अभिवृद्धिमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा बीमाको महत्वबारे ज्ञान वृद्धि हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयस्तरमा बीमा सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
बीमा सम्बन्धी ज्ञान, चेतना तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय, विराट क्याम्पस विराटनगर, शिक्षादीप बोर्डिङ स्कुल, सिटी माध्यमिक विद्यालय, मेरिल्याण्ड माध्यमिक विद्यालय तथा सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयका टोलीहरू सहभागी भएका थिए।

Share This Article
Leave a Comment