तोकिएकै मितिमा मतदान हुनुपर्ने एमालेको जोड

1 Min Read

फाल्गुन १२- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन्। पार्टी कार्यालय च्यासल, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन सर्ने विषयमा बजारमा फैलिएको हल्लाले आशंका जन्माएको बताए।

शाहीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै कुनै पनि बहानामा चुनाव सार्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिए। “निर्वाचन हुन्छ भन्ने स्पष्ट सन्देश सरकारबाट आउनुपर्छ,” उनले भने, “मतदाताले शान्ति–सुरक्षासहित स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउने प्रत्याभूति सरकारले दिनुपर्छ।”
उनका अनुसार चुनाव सर्ने विषयमा चलाइएको चर्चा योजनाबद्ध रूपमा फैलाइएको हुनसक्ने आशंका छ। यस्तो हल्लाले जनतामा अन्योल बढाएको भन्दै उनले सरकारलाई शंका निवारणका लागि स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे।
एमालेले निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न आवश्यक सबै तयारी र सहयोग गर्न तयार रहेको समेत जनाएको छ।

Share This Article
Leave a Comment