फागुन २१ को निर्वाचनअघि नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

1 Min Read

माघ २४,झापा – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाका निर्वाचनभन्दा ४८ घण्टा अगावै बन्द गरिने भएको छ।
मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डीआईजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।
बैठकमा सीमा सुरक्षा सुदृढीकरण, सूचनाको आदान–प्रदान, तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रण लगायत विषयमा विस्तृत छलफल भएको थियो।

यसैगरी, सीमास्तम्भ संरक्षण, यात्रु आवतजावत सहजीकरण, संयुक्त गस्ती सञ्चालन, विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन जस्ता विषयमा पनि दुवै सुरक्षा निकायबीच सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमाक्षेत्रका संभावित जोखिमयुक्त नाकाहरू पहिचान गरी त्यहाँबाट हुनसक्ने खतराको मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासी गतिविधिमाथि निगरानी बढाउने, र विभिन्न तहमा नियमित जाँच प्रणाली लागू गर्ने विषयमा समेत सहमति भएको छ।
त्यस्तै, आपराधिक तत्वको सम्भावित घुसपैठ रोक्न कडाइ गर्ने, र सीमावर्ती क्षेत्रमा जाँडरक्सीको बिक्री–वितरण तथा सेवनमा पूर्ण बन्देज लगाउने विषयमा पनि बैठकमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।

Share This Article
Leave a Comment