बहाई केन्द्रको एक साँझ एवम् अनुभवः संस्करण

22 Min Read

जुन ११, सन् २०२६ को राती करिब साढे दस बजे ह्वाट्सएपमा एउटा सन्देश आयो।सन्देश पठाउने संविधा वाग्ले हुन्। उनी मसँग परिचित एवं कुनै ल फर्ममा काम गर्ने सहयोगी तथा मेरो साथी अधिवक्ता ललिता के.सी. की वेष्ट फ्रेन्ड हुन्। सुत्ने बेला भइसकेको थियो। म मोबाइलमा युट्युब हेर्दै थिएँ।सन्देशमा यस्तो लेखिएको थियोः- “सर नमस्कार, भोलि तपाईंको फुर्सद छ होला? एउटा कार्यक्रममा जानु छ। अ काइन्ड अफ सत्सङ्ग। ललिता र नम्रता पनि जाँदै छन्। यो बानेश्वर एरियामा हो, ५ बजेपछि।” साथै एउटा निमन्त्रणा कार्डको फोटो पनि पठाइएको थियो, जसमा लेखिएको थियो:

“Invitation: You are cordially invited to attend the program to welcome Mr. Praveen Mallik, Member of Universal House of Justice. Program includes cultural music, dance & songs, report presentation of Kathmandu Valley, sharing thoughts of Mr. Mallik, and delicious dinner. See you all with your family and friends. Date: 12 June 2026, Time: 5:00 PM onwards, Venue: Bahá’í National Center, Kathmandu.”

मैले मल्लिकको बारेमा अनलाई रिसर्च गरेँ :

प्रविण मल्लिक भारतीय बहाई समुदायका एक प्रतिष्ठित र समर्पित अनुयायीका रूपमा परिचित रहेछन्। हिन्दू पारिवारिक पृष्ठभूमिबाट बहाई धर्म स्वीकार गरेका आफ्नो आध्यात्मिक यात्रा र सेवाभावका कारण समुदायभित्र विशेष सम्मानित व्यक्तित्व मानिदोरहेछ। हाल उहाँ बहाई धर्मको दोस्रो सर्वोच्च प्रशासनिक संरचना मानिने अन्तर्राष्ट्रिय शिक्षण केन्द्र (International Teaching Centre) मा सेवा गर्ने जिम्मेवारीमा चयन हुनुभएको रहेछ।जुन उपलब्धि भारतीय बहाई समुदायका लागि ऐतिहासिक मानिएको रहेछ।उहाँको कार्यक्षेत्र विश्वभर बहाई शिक्षाको प्रचार, आध्यात्मिक मार्गदर्शन र समुदाय विकाससँग सम्बन्धित रहेको देखिन्छ। उहाँलाई समर्पित नेतृत्व, विनम्रता र सेवाभावका कारण बहाई समुदायमा प्रेरणादायी व्यक्तित्वका रूपमा हेरिएको रहेछ। मल्लिक भारतको बिहार राज्यस्थित एक हिन्दू परिवारमा जन्मी हुर्किएका, उनले आफ्नो माध्यमिक शिक्षा सम्पन्न गरी सन् १९९१ मा उनी उच्च शिक्षा अध्ययनका लागि वाराणसी सरे र Banaras Hindu University बाट मास कम्युनिकेशन तथा पत्रकारितामा स्नातकोत्तर उपाधि हासिल गरे। त्यसपछि उनले केही वर्षसम्म सञ्चार माध्यम र शिक्षा क्षेत्रमा सक्रिय रूपमा कार्य गरे।मल्लिकले कम उमेरमै बहाई धर्म अंगाली वाराणसीको स्थानीय आध्यात्मिक सभाका सदस्यका रूपमा तथा बिहार क्षेत्रीय बहाई परिषद्मा सेवा पुर्‍याए। त्यसपश्चात् सहायक बोर्ड सदस्यका रूपमा कार्यरत रहे र सन् २००६ मा एसियाका लागि कन्टिनेन्टल काउन्सेलरमा नियुक्त भए। सन् २०१० मा उनी International Teaching Center मा नियुक्त भए भने सन् २०१८ अप्रिलमा Universal House of Justice मा निर्वाचित भएका हुन्। Praveen Kumar Mallik is an Indian Bahá’í currently serving on the Universal House of Justice.( https://bahaipedia.org/Praveen_Mallik)

नेपालको सन्दर्भमाः

नेपालमा बहाई धर्मावलम्बीहरूको संख्या अत्यन्तै सानो धार्मिक अल्पसंख्यक समूहको रूपमा रहेको देखिन्छ। अन्तर्राष्ट्रिय धार्मिक तथ्यांकअनुसार संख्या करिब १ हजारदेखि ४ हजार बीच अनुमान गरिएको छ।करिब  ०.०१% उपस्थिति अध्ययनहरुले देखाउँछ।यद्यपि नेपालमा बहाई समुदाय काठमाडौं लगायत केही क्षेत्रहरूमा संस्थागत रूपमा समुदायमा सक्रिय भए पनि राष्ट्रिय जनगणनामा छुट्टै स्पष्ट ठूलो समुदायका रूपमा उनीहरूको उपस्थिति देखिँदैन। त्यो रात मैले संविधा वाग्लेलाई कुनै पनि रिप्लाई फर्काइन। हाम्रो समाजमा विवाहित महिला र पुरुषबीच राति च्याट गर्नु उचित मानिँदैन भन्ने चेतना मनमा आयो। सामाजिक सञ्जालका कारण परिवार विग्रिएका अनेक उदाहरणहरू पनि स्मरणमा आयो।

अर्को दिन शुक्रबार, अधिवक्ता ललिता के.सी. को फोन आयो दिउसो साँडे चारबजे। “नमस्कार सर ! तपाईं कार्यक्रममा जाने होइन ?” मैले भनेँ “मैले त कन्फर्म गरेको छैन।” उनले जवाफ दिइन् “लौ, मैले त तपाईं जाने हो भनेर भनिसकेँ।” अब जान्न भन्न पनि सकिनँ। मित्रताको मान राख्दै जाने निर्णय गरेँ।नम्रता (ललिताकी बहिनी) अफिसको व्यस्तताका कारण आउन नसक्ने निश्चित भइसकेको रहेछ। अफिसबाट साँझको सात बजेपछि मात्रै निस्कन मिल्ने । कार्यक्रमको सेड्यूल सुटनै भएन नम्रताको लागि।

कार्यक्रम सुरु हुन केही समय बाँकी हुँदा ललिताले फेरि फोन गरिन् संविधासँग सम्पर्क हुन सकेको छैन। कल रिसिभ भएन भन्ने मात्रै आयो ।मैले भनेँ “हामीसँग निमन्त्रणा छ, लोकेसन पनि थाहा छ, जाऔँ।” निर्धारित समयमै हामी त्यहाँ पुग्यौँ। मेरो निवासबाट  करिब १० मिनेटको दूरीमा रहेछ खरिबोटबाट अलिकता तलपट्टी नयाँ बानेश्वर शान्तीनगर मार्गमा। तर संविधा नआएसम्म प्रवेश नगर्ने निर्णय गर्यौँ। बाहिर उभिएर वकिलका उही व्यवसायिक पेशासम्बन्धी विषयहरूमा गफियौँ दुइजना “मुद्दा, पेशी, तारिख, कानुन, बहसनोट” आदि। करिब ४५ मिनेटपछि संविधा आइपुगिन्। ढिलो आउने बानीले मलाई सधैँ असहज बनाउँछ।टाइम पङ्गचुआलिटी मानिसको गहना हो। आफैँले निर्धारण गरेको समयमा साथि नआइपुगेपछि दिक्क नलाग्ने कुरै भएन। समयपालन आजको युगको अत्यन्त आवश्यक संस्कार हो भन्ने मेरो दृढ मान्यता छ। बचन नदिनु दिएपछि पूरा गर्नुपर्छ भन्ने लाग्छ। आफैँले तय गरेको कुरामा समयमा उपस्थित नभएपछि अविश्वास बढ्छ। यद्यपि, मैले केही पनि भनिन।किनकी यो कार्यक्रमको सम्पर्कको माध्यम “सेतु” को काम पनि संविधाले गरेको हो।  

संविधा आएपछि हामी कार्यक्रमभित्र प्रवेश गर्यौँ। हलमा अनौपचारिक उपस्थिति धेरै थियो। मञ्चमा प्रमुख अतिथिसहित केही व्यक्तित्वहरू आसिन थिए खादा लगाएका। कार्यक्रमको सञ्चालन एक सुसिल नारी स्वरमा अत्यन्त शालीन र हृदयस्पर्शी शैलीमा कार्यक्रम सञ्चालन भइरहेको थियो। मैले त्यो दृष्य आँखाभरी कैद गरिराखेँ पहिलो दिन कक्षाकोठामा प्रवेश गरेको विद्यार्थीले जस्तै गरी। वातावरण शान्त, सभ्य र ध्यानमग्न थियो।मानिसहरूको अनुहारमा निर्दोशिताको छलजस्तै गरी व्यग्र गतिमा प्रष्फुटित भएको देखिन्थ्यो। संगीत समूहले स्वागत गीत प्रस्तुत गर्‍यो। हामी दर्शकदीर्घाको सबैभन्दा पछिल्लो कुर्सीमा प्रवेश द्वारको दायाँपट्टी मेरो देव्रे छेउमा एक महिला जो एकाग्र भएर प्रेक्षालयमा बसिरहेकी अपरिचित त्यसपछि म, अधिवक्ता ललिता के.सी र संविधाले स्थान ग्रहण गर्यौँ।साना बालबालिकाहरूको नृत्य, काठमाडौं उपत्यकामा सक्रिय बहाई समुदायको स्वागत, र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू क्रमशः भइरहे। कार्यक्रम आफ्नै लयमा अघि बढिरहेको थियो मानिसहरूको आवतजावत पनि जारी नै थियो।

म कार्यक्रम हलबाट बाहिर टेरेसतर्फ निस्किए।केही जरूरी फोनकलमा व्यस्त भऐँ। संविधा र ललिता पनि टिकटक बनाउँ टेरिसमा व्यस्त देखिए। त्यहाँ मैले संविधालाई भनेँ “आजको कार्यक्रम र बहाई धर्मबारे दुई मिनेटमा केही बताइदिनुहोस् मलाई।” उनीहरू टिकटक बनाउन व्यस्त थिए। संविधाले आफ्नो भूमिकाबाट पञ्छिदै भनिन् “म एक जना सरलाई बोलाउँछु, उहाँले राम्रोसँग बताउनुहुन्छ।” तर म सुन्न चाहन्थे संविधाकै स्वरमा उनकै सैलीमा किनकी संविधाले बहाईमा धेरै विश्वास लाग्छ भनेर सेयर गरेका कारणले एक विश्वासीको नजरमा के रहेछ भनेर जान्न म उत्सुक थिए तर पनि संविधाले इग्नोर गरिन।उनलाई यस धर्मको बारेमा ज्ञान थियो र भन्न नचाहेको हो वा व्यस्त भएर मैले पुनः कर पनि गरिन।

केहीबेरमै एक सज्जन व्यक्ति आउनुभयो। मैलाई नमस्कार गर्दै मैले पनि नमस्कार भनेँ। मैले उहाँलाई भनेँ “संविधाले मलाई यहाँ ल्याउनु भएको हो।” उहाँ मुस्कुराउँदै भन्नुभयो। “नमस्कार तपाईं आफैं कहाँ आउनुभएको हो र ? , साथि त माध्यम मात्र हुन्। वास्तवमा तपाईंलाई ईश्वरले नै यहाँ आउन प्रेरित गर्नुभयो।” त्यो वाक्यले मलाई क्षणभर गम्भीर बनायो। एउटा सामान्य निमन्त्रणा, केही संयोग, र अन्ततः एउटा आध्यात्मिक स्थलमा पुगेको अनुभव। यसले जीवनका अनपेक्षित मार्गहरूबारे सोच्न बाध्य बनायो।यो साँझ केवल एउटा कार्यक्रममा सहभागि भएको अनुभव मात्र थिएन; यो समयको मूल्य, सामाजिक व्यवहार, मित्रताको दायित्व र आत्मचिन्तनको एउटा सानो तर अर्थपूर्ण यात्रा बन्न पुग्यो।

वहाई धर्मको बारेमा संविधाले आग्रह गरेकी एक अनुयायी सज्जन व्यक्तिले प्रस्तुत गरेका  (संवादको सारांश) एवं अनुसन्धानमा आधारित बहाई धर्मप्रतिको बुझाई मेरा लागि यस्तो रह्योः-

उनी भन्दै थिए “बहाउल्लाह मिर्जा हुसेन अली, उपनाम बहाउल्लाह (ईश्वरको गौरव), मजिन्दारिन निवासी, जसको आगमनलाई बाबले भविष्यवाणी गरेका थिए। बहाउल्लाहले ईश्वरको नयाँ प्रकटिकरण मानवतालाई दिए।अज्ञानता र कट्टरताका ती शक्तिहरूले उनलाई आक्रमण गरे, तेहरानमा कैद गरियो, निर्वासन गरियो, सन् १८५२ मा, उनको जन्मभूमिबाट बग्दाद र त्यहाँबाट कन्स्टान्टिनोपल र एड्रियनोपल र अन्ततः जेल शहर अक्का जहाँ उनी कम्तिमा चौबीस वर्षसम्म कैदी रह्यो र जसको नजिक बहाजीमा उनको सन् १८९२ मा स्वर्गारोहण भयो। आफ्नो निर्वासनको क्रममा र विशेषगरी एड्रियानोपल र अक्कामा उनले आफ्नो व्यवस्थाको कानून र नियमहरू बनाए, एक सयभन्दा धेरै भोलुमहरूमा व्याख्या गरे।आफ्नो लेखनमा उनले मानव जीवनको दुवै आध्यात्मिक अनि भौतिक आयामलाई समेट्ने विश्व सभ्यता विकास गर्ने संरचना रेखाङ्कित गरे । ”

बहाई धर्म आधुनिक युगमा उदय भएको एक विश्वव्यापी आध्यात्मिक आन्दोलन हो।जसको सुरुवात १९औँ शताब्दीमा इरान (पर्सिया) बाट भएको हो। यस धर्मका प्रवर्तक बहाउल्लाह (Bahá’u’lláh) हुन्, जसले सम्पूर्ण मानवजाति एकै परिवार हो भन्ने मूल सन्देश दिए। धार्मिक, जातीय, भाषिक तथा राष्ट्रिय विभाजनभन्दा माथि उठेर मानव एकताको स्थापना गर्नु यस धर्मको प्रमुख उद्देश्य मानिन्छ। नेपालमा बहाई धर्मको प्रवेश २०औँ शताब्दीको उत्तरार्धतिर भएको हो। आज यो धर्म सीमित भए पनि संगठित रूपमा अभ्यास हुँदै आएको छ। नेपालका बहाई समुदायले स्थानीय स्तरमा आध्यात्मिक सभाहरू सञ्चालन गर्छन्,। जसमा समाज सुधार, नैतिक शिक्षा र आध्यात्मिक विकासका विषयमा छलफल गरिन्छ। बहाई धर्ममा एक विशेष प्रचलन उन्नाइस दिन महिनाको लागि काउन्ट गरिन्छ। जहाँ प्रत्येक १९ दिनमा समुदायका सदस्यहरू भेला भई प्रार्थना, परामर्श र सामाजिक अन्तरक्रिया गर्छन्। बहाई पात्रोमा वर्षलाई १९ महिनामा विभाजन गरिएको हुन्छ र प्रत्येक महिनामा १९ दिन रहने विशेष संरचना अपनाइएको छ। अन्तर्राष्ट्रिय रूपमा बहाई धर्म विश्वका झण्डै सबै देशहरूमा फैलिएको छ। यसको केन्द्रीय प्रशासनिक संस्था युनिभर्सल हाउस अफ जस्टिस इजरायलको हाइफा शहरमा अवस्थित छ। जहाँबाट विश्वव्यापी गतिविधिहरू समन्वय गरिन्छ। बहाई धर्मले विज्ञान र धर्मबीचको समन्वय, महिला पुरुष समानता, सार्वभौमिक शिक्षा, तथा विश्वशान्तिको स्थापना जस्ता सिद्धान्तहरूलाई विशेष महत्व दिन्छ। धार्मिक विश्वासअनुसार, ईश्वरले समय-समयमा विभिन्न युगमा आफ्ना दूतहरू पठाउने गर्दछ। बहाउल्लाहलाई पनि त्यस्तै एक दूतका रूपमा मानिन्छ। बहाई विश्वासअनुसार भविष्यमा पनि मानव सभ्यताको विकाससँगै नयाँ दूतहरूको आगमन हुनेछ, जुन करिब दस हजार वर्षपछि सम्भव हुने विश्वास व्यक्त गरिन्छ।

बहाई धर्मको विश्वप्रसिद्ध प्रतीकहरूमध्ये भारतको नयाँ दिल्लीस्थित लोटस टेम्पल  विशेष उल्लेखनीय छ। कमलको फूलजस्तो संरचना भएको यो मन्दिर धार्मिक सहिष्णुता र विश्व एकताको प्रतीकका रूपमा परिचित छ। त्यहाँ कुनै पनि धर्मका मानिसहरू बिना भेदभाव प्रार्थना गर्न सक्ने व्यवस्था छ, जसले बहाई दर्शनको समावेशी चरित्रलाई झल्काउँछ। समग्रमा, बहाई धर्म कुनै एक समुदाय वा राष्ट्रमा सीमित नभई सम्पूर्ण मानवजातिलाई एउटै सूत्रमा बाँध्ने प्रयासरत आध्यात्मिक आन्दोलन हो। यसको मूल सन्देश भनेको  पृथ्वी एक देश हो र मानवजाति त्यसका नागरिक हुन्।आजको विभाजित विश्वका लागि सान्दर्भिक र प्रेरणादायी मानिन्छ। बहाई धर्ममा मन्दिर (House of Worship) तथा अन्य धार्मिक संरचना निर्माणका लागि दानको सिद्धान्त निकै स्पष्ट र विशिष्ट छ। यसको मुख्य आधार “स्वैच्छिक योगदान” हो। बहाई धर्मअनुसार दान केवल बहाई धर्मावलम्बीहरूबाट मात्र स्वीकार गरिन्छ। बाहिरी (गैर बहाई) व्यक्तिबाट आर्थिक सहयोग लिने प्रचलन हुँदैन। दान पूर्ण रूपमा स्वेच्छिक (voluntary)  हुन्छ कुनै दबाब, अपिल, चन्दा संकलन वा प्रचारमार्फत पैसा उठाइँदैन। योगदानलाई आध्यात्मिक कर्तव्य मानिन्छ, प्रदर्शन वा सामाजिक प्रतिष्ठासँग जोडिँदैन। बहाई सिद्धान्त अनुसार: धर्मको आर्थिक व्यवस्थापन आफ्नै अनुयायीको जिम्मेवारी हुनुपर्छ। यसले धर्मलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी राख्न सहयोग गर्छ। बाह्य प्रभाव वा स्वार्थबाट बचाउन यो अभ्यास महत्वपूर्ण मानिन्छ।बहाई धर्ममा मन्दिर निर्माण आफ्नै अनुयायीको दानबाट मात्र गरिनु यस धर्मको मूल सिद्धान्तसँग मेल खाने अभ्यास हो।यसले धार्मिक स्वतन्त्रता, आत्मनिर्भरता र आध्यात्मिक मूल्यलाई प्राथमिकता दिन्छ।

नेपालमा बहाई धर्मको प्रवेश सन् १९५०–६० को दशकतिर भएको मानिन्छ। जब केही विदेशी बहाई अनुयायी तथा प्रचारकहरू दक्षिण एशियाली क्षेत्र हुँदै नेपाल आएका थिए। प्रारम्भिक चरणमा यसको प्रचार प्रसार सीमित दायरामा थियो तर बिस्तारै नेपाली समुदायका केही व्यक्तिहरूले यस धर्मलाई आत्मसात गर्न थाले। बहाई धर्मको विशेषता अनुसार, यसमा औपचारिक पादरी प्रणाली हुँदैन। यसको सट्टा “आध्यात्मिक सभा” (Spiritual Assembly) मार्फत समुदाय सञ्चालन गरिन्छ। नेपालमा स्थानीय र राष्ट्रिय स्तरमा यस्ता सभाहरू गठन भएका छन्, जसले समुदायको व्यवस्थापन, धार्मिक कार्यक्रम तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्छन्।काठमाडौं उपत्यका बहाई गतिविधिको केन्द्रका रूपमा विकसित भएको छ। यहाँ रहेको बहाई राष्ट्रिय केन्द्र (Bahá’í National Center) ले विभिन्न कार्यक्रम, प्रार्थना सभा, बाल तथा युवा नैतिक शिक्षा कक्षा, र अन्तरधार्मिक संवादहरू सञ्चालन गर्दै आएको छ। नेपालका बहाई समुदायले उन्नाइस दिने पर्व (Nineteen Day Feast) जस्ता नियमित आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गर्छन्। यसमा प्रार्थना, परामर्श र सामुदायिक समन्वय गरिन्छ। साथै, बहाई धर्मले शिक्षा, लैङ्गिक समानता, नैतिक विकास र सामाजिक एकतालाई प्राथमिकता दिने भएकाले विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिहरूमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ। हाल नेपालमा बहाई धर्म एक सानो तर संगठित धार्मिक समुदायका रूपमा रहेको छ। यसको अनुयायी संख्या ठूलो नभए पनि काठमाडौंसहित केही शहरी तथा अर्धशहरी क्षेत्रमा यसको उपस्थिति देखिन्छ।नेपालको संविधानले धार्मिक स्वतन्त्रता सुनिश्चित गरे पनि धर्म परिवर्तनसम्बन्धी कानुनी संवेदनशीलताका कारण बहाई समुदायले प्रचारभन्दा बढी मूल्य, संवाद र सेवामा आधारित गतिविधिहरूमा ध्यान केन्द्रित गरेको देखिन्छ। समग्रमा, नेपालमा बहाई धर्म स्थापना कालदेखि हालसम्म शान्त, क्रमिक र विस्तारको मार्गमा अघि बढिरहेको छ। सानो समुदाय भए पनि यसको अन्तर्राष्ट्रिय सञ्जाल, स्पष्ट सिद्धान्त र सामाजिक रूपमा जोड दिने दृष्टिकोणका कारण यसको उपस्थिति स्थिर र प्रभावकारी देखिन्छ।मैले उहाँलाई हार्दिकतापूर्वक धन्यवाद भनेँ।कार्यक्रमस्थलभित्र मल्लिकको मनत्व्य सुरू भयो । जाउँ भन्नु भयो मैले हुन्छ भनेँ।प्रमुख अतिथि मल्लिकको प्रस्तुतले यस्ता विषयहरू समेट्दै थिएः

बहाई धर्मका मूल सन्देशहरूः

  • विश्वव्यापी रूपमा फैलिएको बहाई धर्मले मानव सभ्यतालाई एकताको सूत्रमा बाँध्ने स्पष्ट र दूरदर्शी सन्देशहरू प्रस्तुत गरेको छ।
  • १९औँ शताब्दीमा इरानबाट उदाएका यस धर्मका प्रवर्तक बहाउल्लाहले मानवजातिलाई एउटै परिवारका सदस्यका रूपमा हेर्नुपर्ने धारणा अघि सारे, जसले आजको विभाजित विश्वमा गहिरो सान्दर्भिकता राख्दछ।
  • बहाई दर्शनको केन्द्रबिन्दु “पृथ्वी एक देश हो र मानवजाति त्यसका नागरिक हुन्” भन्ने मान्यता हो। यसले राष्ट्र, जाति, धर्म वा भाषाका आधारमा हुने विभाजनलाई अस्वीकार गर्दै विश्व एकताको अवधारणालाई प्राथमिकता दिन्छ।
  • विज्ञान र धर्मबीचको सामञ्जस्य, महिला पुरुष समानता, सार्वभौमिक शिक्षा, तथा आर्थिक न्यायजस्ता पक्षहरूलाई यस धर्मले आधारभूत सिद्धान्तका रूपमा अघि सारेको छ।
  • यसका अतिरिक्त, पूर्वाग्रहको अन्त्य, सत्यको स्वतन्त्र खोज, तथा नैतिक र आध्यात्मिक विकासलाई मानव जीवनको अनिवार्य आयामका रूपमा व्याख्या गरिएको छ।
  • बहाउल्लाहका शिक्षाले शक्ति र प्रभुत्वभन्दा सहयोग र सहअस्तित्वलाई प्राथमिकता दिन्छन्, जसले विश्वशान्ति स्थापना गर्ने दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्छ।
  • समग्रमा, बहाई धर्मका सन्देशहरू कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजलाई लक्षित छन् जहाँ विविधताभित्रको एकता, सम्मान र साझा उत्तरदायित्वलाई आधार मानेर भविष्य निर्माण गर्ने प्रेरणा प्रदान गरिन्छ।

यस्तै के भन्दै हुनुहुन्थ्यो मल्लिक जी। म कार्यक्रमबाट निस्किए। मेरो मनमा भने “नेपालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गर्दै सबै धर्म, सम्प्रदाय र आस्थालाई समान सम्मान, संरक्षण र स्वतन्त्र अभ्यासको ग्यारेन्टी गरेको छ। यसै संवैधानिक आधारमा नेपालमा हिन्दु, बौद्ध, इस्लाम, क्रिश्चियनदेखि लिएर बहाई जस्ता साना धार्मिक समुदायसम्मले आफ्नो आस्था र संस्कृतिलाई स्वतन्त्र रूपमा अभ्यास गर्ने अवसर पाएका छन्। बहाई धर्म नेपालमा सानो तर संगठित समुदायका रूपमा उपस्थित छ, जसले शान्ति, एकता, मानवता र सहअस्तित्वको सिद्धान्तलाई केन्द्रमा राख्दै सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। काठमाडौं लगायत केही शहरी क्षेत्रमा यसको संस्थागत उपस्थिति देखिन्छ, जहाँ सामुदायिक प्रार्थना, नैतिक शिक्षा र युवा विकाससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन हुन्छन्।  नेपालको बहुल सांस्कृतिक संरचनाभित्र बहाई समुदायको उपस्थिति धार्मिक सहिष्णुता र विविधताको महत्वपूर्ण उदाहरण हो। संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रताको अभ्यास स्वरूप, यस्ता साना समुदायहरूले पनि आफ्नो पहिचान र अभ्यासलाई निरन्तरता दिँदै राष्ट्रिय सामाजिक सद्भावमा योगदान पुर्‍याइरहेका छन्।  यसरी नेपालमा धर्मनिरपेक्षताको सिद्धान्त केवल कानुनी दस्तावेजमा सीमित नभई व्यवहारमा पनि विविध धर्महरूको सहअस्तित्वमार्फत प्रकट भइरहेको देखिन्छ, जसले देशको सामाजिक एकतालाई अझ सुदृढ बनाइरहेको छ।” यस्तै कुराहरू खेल्दै थिए।

नेपालका बहाई समुदायको अनुभवः

नेपालस्थित बहाई समुदायले युनिभर्सल हाउस अफ जस्टिसका सदस्य श्री प्रवीण कुमार मल्लिकलाई १२ जुन २०२६ मा काठमाडौंमा भएको निजको भ्रमणका क्रममा स्वागत गर्न पाउनु बहाई समुदायका लागि ठूलो सम्मान र विशेष अवसरका रूपमा अनुभव गरेको छ। यस अवसरमा काठमाडौंस्थित बहाई राष्ट्रिय केन्द्रमा विशेष सामुदायिक भेला आयोजना गरिएको थियो। जहाँ काठमाडौं उपत्यकाभरका बहाई अनुयायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालका बहाई समुदायको सांस्कृतिक विविधता र जीवन्त भावनालाई प्रतिबिम्बित गर्ने परम्परागत संगीत, गीत तथा नृत्य प्रस्तुत गरिएका थिए। साथै, काठमाडौं उपत्यकाभित्र बहाई समुदायले सञ्चालन गरेका गतिविधिहरू तथा हासिल गरेका प्रगतिबारे विस्तृत प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।साँझको कार्यक्रमको मुख्य आकर्षण श्री मल्लिकद्वारा प्रस्तुत प्रेरणादायी सम्बोधन रह्यो। उहाँले सेवा, एकता, आध्यात्मिक उन्नति तथा समाजको समग्र उत्थानप्रति समर्पणको महत्वलाई विशेष रूपमा उजागर गर्नुभयो। मल्लिकको संवोधनले उपस्थित सहभागीहरूलाई गहिरो प्रेरणा प्रदान गर्दै समाजकल्याणमा अझ सक्रिय योगदान दिन उत्प्रेरित गरेको थियो।उपस्थितिले हर्ष, कृतज्ञता र नवप्रेरणाको वातावरणको रूपमा सम्पन्न भएको थियो अनुयायिहरू बताउँछन। नेपालका बहाई समुदायले श्री मल्लिकसँग भेटघाट तथा मार्गदर्शन प्राप्त गर्ने अवसरप्रति हार्दिक आभार व्यक्त गरेका छन्। यो भ्रमण बहाई समुदायका लागि एक अविस्मरणीय र प्रेरणादायी क्षणका रूपमा रहने विश्वास गरिएको छ।नेपालस्थित बहाई समुदायले श्री प्रवीण कुमार मल्लिकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ र मल्लिकले यस ऐतिहासिक भ्रमणबाट आफूलाई अत्यन्त गौरवान्वित र धन्य ठानेको छन्।

समय सीमितताका कारण कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य पूर्ण रूपमा सुन्ने अवसर जुरेन। कार्यक्रम अझै जारी रहँदा अधिवक्ता ललिता के.सी. र म भने कार्यक्रमस्थलबाट बाहिरियौँ नम्रता मिनभवनमा प्रतिक्षा गर्दै थिइन।मेरो समय अत्यन्त सीमित थियो। साँझ सात बजेपछि एउटा अनलाइन मिटिङ्ग तथा केही विदेशी मित्रहरूसँग रिसर्च जर्नलसम्बन्धी महत्वपूर्ण छलफल तय भइसकेको थियो। जसले आर्थिक रूपमा समेत प्रतिफल दिने निश्चितता बोकेको थियो। उता, ललिता पनि हतारिँदै थिइन् उनकी बहिनी अफिसबाट निस्किसकेकी थिइन् र समयमै घर पुग्नु आवश्यक थियो। यी परिस्थितिहरूलाई मध्यनजर गर्दै हामीले सात बजेपछि कार्यक्रमबाट निस्कने निर्णय गर्यौँ। यद्यपि, संविधाले कार्यक्रम पश्चातको डिनरमा सहभागी भई केही समयपछि सँगै कार्यक्रमबाट निस्कन आग्रह गरिरहेकी थिइन्। उनको आग्रहप्रति सम्मान हुँदाहुँदै पनि,  अन्तिमसम्म बस्न नसक्ने निर्णय लिनुपर्‍यो। ललिताले पनि आफ्नो घर चाँडै निस्किनु पर्ने अवस्था स्पष्ट गरिन्। कार्यक्रम अपेक्षाभन्दा केही लामो तानिने संकेत देखिएपछि हामी आफ्नोबाटो लाग्यौ।कार्यक्रमस्थलबाट बाहिरिँदै गर्दा संविधालाई अन्तिमसम्म साथ दिन नसकेकोमा मन खिन्न रह्यो।यसबारे मैले ललितासँग पनि भावना साटेँ, र उनले पनि त्यही अनुभूति व्यक्त गरिन् “के गर्नु, समयको बाध्यता त छँदैछ, बसेकै थियौँ, तर अब निस्कनु पर्‍यो कामहरूलाई प्राथमिकतामा राख्नु पर्छ नी।।” रोडतर्फ लागेपछि हामी मिनभवन जिम्बु थकाली अगाडि पर्खिरहेकी नम्रतासँग भेटियौँ। केहीबेर जिम्बु थकालीमा तीनैजना बसेर कुराकानी गर्‍यौँ र त्यसपछि आआफ्नो गन्तव्यतर्फ लाग्यौँ। संविधा भने सम्भवतः कार्यक्रमको अन्त्यसम्म बसेर ढिलो गरी घर फर्किएकी हुनुपर्छ।यस सम्पूर्ण प्रसङ्गबीच, संविधालाई एक्लै छोडेर निस्कनु परेकोमा मनभित्र गहिरो क्षमायाचनाको भाव जागिरह्यो। निमन्त्रणा गर्ने साथीलाई कार्यक्रमको अन्तिमसम्म साथ दिन नसक्नु एउटा अधुरोपनकै रूपमा मनमा रहिरह्यो।

बहाई धर्मका अनुयायीहरूको जीवनपद्धति, आस्था र सामाजिक अभ्यासहरूलाई नजिकबाट अवलोकन गर्ने अवसर यसपटक एक संयोगपूर्ण निम्तोमार्फत जुर्‍यो। उक्त अनुभव केवल कार्यक्रममा सहभागी हुनुमा सीमित रहेन, बरु फरक आध्यात्मिक दृष्टिकोणसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसरका रूपमा विकसित भयो। यस सन्दर्भमा, कार्यक्रममा सहभागी गराउने संविधाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नैपर्छ।मिल्थ्यो भनेँ उनीहरुकै शैलीमा तर जानिएन।त्यसैगरी, उहाँमार्फत परिचित हुनुभएको बहाई समुदायका एक विशिष्ट अनुयायीले सरल, आत्मीय र विचारशील ढंगले धर्मका मूल सन्देशहरू प्रस्तुत गर्नुभयो, जसले अनुभवलाई अझ अर्थपूर्ण बनायो। तर उहाँले पनि आफ्नो नाम मलाई बताउनु भएन मैले पनि परिचय गरिन।तर उहाँ पेशाले व्यापारि हुँ भनेको याद छ। यस्ता भेटघाट र संवादहरूले धार्मिक सहिष्णुता, पारस्परिक सम्मान र मानव एकताको भावलाई जीवन्त बनाउने विश्वास अझ दृढ बनाउँदो रहेछ। संविधा वागल्लेलाई लाई मनदेखि  धेरै हार्दिक धन्यवाद।  

निष्कर्षः सबै धर्महरूको मूल सार मानवता, करुणा, सहिष्णुता र नैतिक अनुशासनमा केन्द्रित देखिन्छ। फरक फरक आस्था, संस्कार र अभ्यास भए पनि तिनको गन्तव्य मानव जीवनलाई शान्त, मर्यादित र उत्तरदायी बनाउनु हो। धर्मले व्यक्तिलाई आत्मसंयम, सत्यनिष्ठा र परोपकारतर्फ उन्मुख गराउँदै सामाजिक सद्भावको आधार तयार गर्छ। यस अर्थमा धर्म कुनै विभाजनको साधन नभई सहअस्तित्व र पारस्परिक सम्मानको सेतु हो। विश्वका विविध संस्कृतिहरूमा धर्मले नै मानवता र नैतिकताको साझा मूल्यलाई निरन्तर संरक्षण र प्रवर्द्धन गर्दै आएको पाइन्छ।

धर्मो रक्षति रक्षितः अर्थात् धर्मको रक्षा गर्नेले नै अन्ततः आफू सुरक्षित रहन्छ भन्ने सिद्धान्तले धर्मको वास्तविक मर्म स्पष्ट गर्छ। धर्म यहाँ केवल आस्था नभई न्याय, कर्तव्य र नैतिकताको समष्टि हो। जब मानवले सत्य, करुणा र सदाचारलाई जीवनमा अपनाउँछ, तब व्यक्तिगत र सामाजिक दुवै तहमा स्थायित्व र शान्ति कायम हुन्छ। आजको विश्व परिवेशमा धर्मलाई विभाजनभन्दा माथि उठाएर सकारात्मक ऊर्जा, सहिष्णुता र मानव कल्याणको माध्यमका रूपमा बुझ्नु आवश्यक छ। यस्ता मूल्यहरूले मानव जीवनलाई उज्यालो, सन्तुलित र अर्थपूर्ण दिशातर्फ डोर्याउँछन्।

लेखकः सार्वजिनिक प्रशासन, दिगो विकास र कानून तर्जुमा क्षेत्रका विश्लेषक हुन।

Share This Article
Leave a Comment