५ असार- सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा कतारलाई ६–० ले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरेको छ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा क्यानडाका जोनाथन डेभिडले ह्याट्रिक गरे। साइल लारिन र नाथन सालिबाले एक–एक गोल गर्दा कतारका मोहम्मद मनाईबाट एक आत्मघाती गोल भयो।
१६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाए। त्यसपछि डेभिडले २९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। ३३औँ मिनेटमा हमाम अहमद रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित भयो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडालाई ३–० को अग्रता दिलाए।
दोस्रो हाफको ५१औँ मिनेटमा असिम माडिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित रह्यो। त्यसको फाइदा उठाउँदै क्यानडाका नाथन सालिबाले ६४औँ मिनेटमा गोल गरे। ७५औँ मिनेटमा मोहम्मद मनाईको आत्मघाती गोलबाट क्यानडाले ५–० को अग्रता बनायो। इन्जुरी समयमा डेभिडले ह्याट्रिक पूरा गर्दै क्यानडाको ६–० को शानदार जित सुनिश्चित गरे।
यो जितसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक विजय हासिल गरेको छ। दुई खेलबाट ४ अंक जोडेको क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
समान ३ अंक रहेको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ भने बोस्निया एन्ड हर्जगोभिना र कतारको समान १–१ अंक रहेको छ।

